सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो बनीया सहर

२०७७ वैशाख २४, ०१:३९

हिक्मत शाही

दायाँ गर्न जान्नु पर्छ
बाँया गर्न जान्नु पर्छ
यहाँ सम्मानित भएर बाँच्न
कसैको छायाँ बन्न जान्नु पर्छ !

चाकरी गर्न जान्नुपर्छ
चाप्लुसी गर्न जान्नुपर्छ 
मालिकलाई रिझाउन 
गुप्ताङ्गमा मालिस गर्दै
मरेकोलाई ज्युँदो र ज्युँदोलाई मरेको भन्न सक्नुपर्छ ,
यहाँ सम्मानित भएर बाँच्न 
सर्वाङ्ग भएर नाच्न जान्नुपर्छ !

महलमा बसेर 
सडकको गीत गाउन जान्नुपर्छ
गरिबलाई बेचेर 
गरिबी भजाउन जान्नुपर्छ
त्यसैले त
चौरासी व्यञ्जन हसुरेर
भोकमरी डकार्नेहरु हो 
यहाँ सम्मानित भएर बाँच्न
झुटको खेती गर्न जान्नुपर्छ !

भातमारा बनेर कसैको 
नुन खान जान्नुपर्छ
पितल धितो राखेर
छापावाल सुुन खान जान्नुपर्छ
गुन के ?
बैगुन के ?
स्वार्थ बाँझिए कतै
सबै गुन बिर्सिएर
बैगुन गन्न जान्नुपर्छ
यहाँ सम्मानित भएर बाँच्न
पितललाई सुन भनेर बेच्न जान्नुपर्छ !

मालिकको भक्ति
गर्न सक्नुपर्छ
बनावटी आशक्ति
जताउन सक्नुपर्छ ,
इमान बेचेर
स्वाभिमान बन्धक राख्न सक्नुपर्छ
स्वतन्त्रा बेचेर
आत्मसम्मान बन्धक राख्न सक्नुपर्छ
यहाँ सम्मानित भएर बाँच्न 
कलाकार भएर बाँच्न जान्नुपर्छ !

कतै झुटको खेती
कतै टुटफुटको खेती 
शिष्टाचारको आवरणमा 
दुराचार कति कति ?
लोकाचारको आवरणमा 
पापाचार कति कति ?
न पाप छ
न पुण्य छ
न लोकाचार 
अनि
न शिष्टाचार छ
र त
मैले बाँचेको भावशून्य परिवेश
यहाँ सम्मानित भएर बाँच्न
पापाचार गरेर बाँच्न सक्नुपर्छ !

इमानको आवरण भित्र 
वैमानहरु कति कति ?
शालिनताको आवरण भित्र
शैतानहरु कति कति ?
यहाँ जीवनको मात्र व्यापार हुँदैन
मृत्युको समेत व्यापार हुन्छ ,
मानिसको भावना मात्र होइन
कतै लास बेचिन्छ
कतै आस 
अनि
कतै प्यास बेचिन्छ
र त 
मैले बाँचेको बनिया सहर
यहाँ सम्मानित भएर बाँच्न 
देउतामा ढुङ्गा र ढुङ्गामा देउताको व्यापार गर्न जान्नुपर्छ !

(लेखक–पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन्।)

कमेन्ट लोड गर्नुस