सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका स्थानीय तह ५० शैयाको आईसोलेसन स्थापना गर्ने तयारीमा जुटे

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ २३, १२:१७ जनक विष्ट

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाले सेती प्रादेशिक अस्पतालले आईसोलेसनमा शैया खाली नभएको भन्दै संक्रमितलाई भर्ना नलिएपछि ७ जना कोरोना संक्रमितलाई बुधबार एम्बुलेन्स मार्फत मेहन्द्रनगरको महाकाली अस्पताल पठाएको छ। सुदूरपश्चिममै अहिले सम्म सबैभन्दा बढि १५  जना कोरोना संक्रमित भेटिएको गौरीगंगा नगरपालिकाले आफ्नै आईसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरिरहेको छ।

नगरपालिकाले वडा नम्बर २ मा रहेको सभाहल र वडा कार्यालयलाई आईसोलेसन वार्ड बनाउने काम भईरहेको उपप्रमुख अञ्चला चौधरीले बताईन्। चौधरीले मालिका मावीको नजिकैको सभा हल र वडा कार्यालय भवनमा आईसोलेसन शैया व्यवस्थापन गरिरहेको उनले जानकारी दिइन्।  

गौरीगंगापछि कैलालीकै जानकी गाउँपालिकामा समेत ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। टीकापुर र सेती प्रादेशिक अस्पतालको आईसोलेसन राखेर उनीहरुको उपचार भईरहेको छ। गाउँपालिकाले कोरोना प्रभावित क्षेत्रबाट फर्किएका र फर्किरहेकाहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गरिरहेको छ।

प्रदेशमा अहिले सम्म संक्रमण देखिएका अधिकांश लक्षणबिहिन व्यक्ति रहेको भन्दै सुदूरपश्चिमको प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय स्तरमै उनीहरुको व्यवस्थापन गर्न सकिने भन्दै ५० शैयाको आईसोलेसन व्यवस्था गर्न परिपत्र गरेको छ। उक्त परिपत्रपछि जानकी गाउँपालिकाले पनि आईसोलेसन व्यवस्थापनका लागि छलफल थालिएको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले अहिले संक्रमितलाई टीकापुर अस्पतालको आईसोलेसन राखिएपनि थप आईसोलेसन शैया व्यवस्थापनको तयारी थालिएको बताए। उनले कार्यपालिका बैठकमा छलफल गरी उक्त विषयलाई टुङ्गोमा पुगाउने बताए। गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा आईसोलेसन शैया बढाउने र संक्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर लगायतका उपकरण व्यवस्थापनका लागि तयारी गरिरहेको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले अहिले मालाखेती अस्पतालमै आईसोलेसन शैया बढाउने तयारी भईरहेको जानकारी दिए। संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण लगायतका स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री खरिदको कार्यादेश भईसकेको बताए। अस्पताल बाहेक कुनै छुट्टै स्थानमा आईसोलेसन व्यवस्थापन गर्ने विषय समेत छलफल भईरहेको विष्टले जानकारी दिए।

कैलालीका स्थानीय तहले संक्रमितहरुको उपचारका लागि उपलब्ध पूर्वाधारको सदुपयोग गर्दै आईसोलेसन वार्ड व्यवस्थापन गर्ने तयारी थालेपनि अधिकांश स्थानीय तहमा अन्यौलता देखिएको छ। स्वास्थ्य निर्देशनालयको परिपत्र अनुसार स्थानीय तहका वडाहरुमा आईसोलेसन वार्ड व्यवस्थापनको तयारी भएपनि पर्याप्त स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मी र अन्य उपकरणको अभावले समस्या हुने देखिएको हो।

डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले स्वास्थ्य निर्देशनालयको परिपत्रपछि सबै वडामा पाँच÷पाँच शैयाको आईसोलेसन वार्ड स्थापना गरिरहेको बताए। उनले आईसोलेसन वार्ड स्थापना गरिएपनि अन्य स्वास्थ्य जनशक्ति र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण अभावमा समस्या हुने जनाए।

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै गएको र अधिकांश लक्षणबिहिन बिरामी बढि भएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार ८८ वटै स्थानीय तहलाई परिपत्र गर्दै ५० शैयाको आईसोलेसन व्यवस्थापन गर्न भनेको थियो। तर केही स्थानीय तहले मात्र क्वारेन्टिन व्यवस्थापनको तयारी थालेका हुन्। 
 

 
 
   

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस