सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना त्रासले अन्य विरामी उपचार नपाएर क्वारेन्टिनमै ज्यान गुमाउदै

२०७७ जेठ २५, १०:१५ जनक विष्ट

धनगढी  : भारतबाट फर्किएको चार दिन नबित्दै बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को भटनामा रहेको मालिका माविमा एक युवतीको मृत्यु भयो। जेठ १६ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी २२ वर्षीया सुनिता लुहारको जेठ २० गते मृत्यु भएको थियो।

भारतबाट फर्किएका कारण कोरोना आशंकामा मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढीमा परीक्षण गरिएपनि उनको रिर्पोट नेगेटिभ आएको थियो।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरका अनुसार सुनिता लामो समयदेखि मुटु रोगले ग्रसित थिईन्। शहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्रमा समेत उपचार गराईसकेकी उनी औषधी उपचारकै लागि भारत गएकी थिईन्। सुनिताले नियमित औषधी सेवन गर्दै आएकी थिईन्।

उनका परिवारको भनाई उल्लेख गर्दै कुँवरले भने, नियमित औषधी खादै आएकी रहेछन्, ‘औषधी सकिएको १४÷१५ दिन भईसकेको थियो। नेपालमै पाईहाल्ला भनेर आएका रहेछन् तर यहाँ त्यो औषधी मिलेन। कोरोना देखिएन मुटु सम्बन्धी समस्या भएकाले औषधी सेवन गर्न नपाएकै कारण मृत्यु भएको हुनसक्छ।’

डडेल्धुरामा जेठ १८ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका नवदुर्गा गाउँपालिकाका ६ वर्षीय बालकको मृत्यु भयो। उनको पनि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो। ती बालकमा कालाजार भएकाले औषधी नपाएकै कारण मृत्यु भएको अनुमान गरिएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रसाद भट्टले रिर्पोट नेगेटिभ आएकाले बालकको मृत्युका कारण कालाजार भएको हुनसक्ने बताए। उनका अनुसार ती बालकले समयमै उपचार पाएको भए बचाउन सकिने अवस्था हुन्थ्यो। तर क्वारेन्टिनबाट अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। ती बालक पनि भारतबाट फर्किएका थिए।

जेठ २१ गते डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम आधारभुत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएकी ३० वर्षीया महिलाको रिर्पोट पनि नेगेटिभ आएको छ। कोभिड–१९ सम्पर्क व्यक्ति भट्टका अनुसार उनमा कुनै किसिमको स्वास्थ्य समस्या भने थिएन। तर कोरोनाकै त्रासले महिलाको शव परीक्षण समेत हुन नसक्दा मृत्युको कारण खुल्न सकेको छैन्।

आज बिहान डोटीको केआईसिह गाउँपालिका ३ को क्वारेन्टिनमा मृत्यु भएका १९ वर्षीय युवक पनि भारतबाट फर्किएका थिए। उनको मृत्युको कारण खुलेको छैन्। स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टका अनुसार मृतक युवकको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्ने तयारी भईरहेको छ।

तर ती युवक पनि मुटु सम्बन्धी रोगबाट ग्रसित विरामी भएको बुझिएको विष्टले बताए। प्रदेशमा अहिले सम्म भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकै बेला ६ जनाको मृत्यु भएको छ। बैतडीमा दुई जना, डडेल्धुरा दुई, डोटी र बाजुरामा एक÷एक जनाको क्वारेन्टिनमा मृत्यु भएको छ। उनीहरु मध्ये तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ भने अन्यको परीक्षण हुन बाँकी छ।

कोरोना त्रासका कारण अन्य गम्भीर प्रकृतीका रोगबाट ग्रसित बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने स्थिती झनै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा क्वारेन्टिनमा राख्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्।

उनले पूर्व रोग भएका बिरामीलाई परीक्षण बिना क्वारेन्टिनमा बस्दा खानपान, रहनसहन, मानसिक तनाव लगायतका कारण रोग बढ्न सक्ने सम्भावना प्रबल हुने बताए। उनले पूर्व रोग भए÷नभएका सबैको हकमा क्वारेन्टिनमा राख्दा कलेजो, छाती, मुटु, फोक्सो, मृगौला सम्बन्धी जाँच गर्नु अतिआवश्यक भएको बताउँदै त्यसो गर्न सकिए धेरै हद सम्म जोखिम न्युनिकरण गर्न सकिने जनाए।

यस्तै क्वारेन्टिनमा बस्दा हेपाटाईसि बी, एचआई लगायतका सरुवा रोगको समेत परीक्षण गर्न सकेमा लुकिरहेको रोग पत्ता लगाउन सकिने एवंम् पूर्व रोगीहरुको हकमा पनि सावधानी अपनाउन सकिने डाक्टर शर्माको भनाई छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस