सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल नै केवल – कविता

२०७७ जेठ २७, १०:५५

मेरो जात र गोत्र,नाम,थर हो नेपाल नै केवल ।
मेरो साहस ,शीप,बुद्धि,बल हो नेपाल नै केवल ।
मेरो मित्र ,छिमेक, बन्धुजन हो नेपाल नै केवल ।
मेरो रक्त, नसा र हाड ,हर हो नेपाल नै केवल ।

मेरो मन्त्र र तन्त्र ,यन्त्र,बल हो नेपाल नै केवल ।
मेरो बंश तदंश अंश सब हो नेपाल नै केवल ।
मेरो गौरव,गर्व,हर्ष,गरिमा नेपाल नै केवल ।
मेरो पौरख , पर्व हो प्रकृति हो नेपाल नै केवल ।

मेरो श्वास ,प्रश्वास ,मांस,मद हो नेपाल नै केवल ।
मेरो ओज ,प्रताप,छाप,तप हो नेपाल नै केवल ।
मेरो पूर्वजको धरोहर ,धरा नेपाल नै केवल ।
मेरो माल,हिमाल, शैल, सर हो नेपाल नै केवल ।

मेरो बाल,कपाल,भाल, पल हो नेपाल नै केवल ।
मेरो सौम्य, मनोपराग थल हो नेपाल नै केवल ।
मेरो स्वर्ग सुखोपवर्ग पद हो नेपाल नै केवल ।
मेरो हो अपनत्व,स्वत्व,ममता नेपाल नै केवल ।

मेरो स्पन्दन हो मनोमनन हो नेपाल नै केवल ।
मेरो औषध हो मनोमलम हो नेपाल नै केवल ।
मेरो प्राण र त्राण ,बाण पनि हो नेपाल नै केवल ।
मेरो धड्कन हो भविष्य भव हो नेपाल नै केवल ।।
मनिराम जोशी, डोटी

कमेन्ट लोड गर्नुस