सुदूरपश्चिममा भारत तथा तेस्रो मुलुकमा रहेकाहरुको विवरण अझै संकलन भएन
धनगढी : सुदूरपश्चिम प्रदेशमा भारत तथा तेस्रो मुलुकबाट फर्किनेहरुको तथ्याङ्क अझै संकलन हुन सकेको छैन्। प्रदेशमा कोरोना भाईरसको संक्रमण फैलिएको साढे दुई महिना भईसक्दा समेत भारत तथा अन्य मुलुकमा रहेका एवंम् स्वदेश फर्किनेहरुको विवरण संकलन नगरिएको हो।
प्रदेशमा सबैभन्दा बढि जोखिममा रहेको कैलालीका ९ वटा स्थानीय तहमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उनीहरु मध्ये अधिकांश संक्रमित भारत तथा प्रभावित क्षेत्रहरुबाट आएको भएपनि अब थप के कती जना पालिका फर्किने सम्भावना छ भन्ने आकलन गर्ने कुनै तथ्याङ्क छैन्।
स्थानीय तहहरुले वडा तहबाट पालिका बाहिर रहेकाहरुको तथ्याङ्क संकलन गर्न सक्ने हुँदाहुदै पनि वेवास्ता गरेपछि थप जोखिमको पूर्व आकलन गर्न मुस्कील परेको छ। अहिले सम्म सय बढि फर्किएको कैलालीको जानकी गाउँपालिकामा कोरोना संक्रमित थपिदै गएको भएपनि भारत तथा अन्य मुलुकमा रहेकाहरुको विवरण संकलन गरिएको छैन्।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण विष्टले भारतबाट फर्किरहेकाहरुको विवरण संकलनको काम भएपनि उतै रहेकाहरुको अभिलेख नभएको बताए। उनले भारतमा रोजगारी गर्न जानेहरुको हकमा भिषा प्रणाली नभएकाले विवरण राख्न नसकिएको बताउँदै अब संकलनको काम थालिने बताए।
कोरोना आयातित भाइरस भएकाले प्रभावित क्षेत्रबाटै फर्किनेहरुबाट फैलिने हो। स्वदेश बाहिर तथा अन्य प्रभावित क्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी उनीहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न सकेमा जोखिम न्युनिकरण गर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन्। तर सुदूरपश्चिम दैनिकी जसो संक्रमित बढ्दै गएका बेला बाहिरबाट स्वदेश फर्किनेहरुको विवरण संकलन गर्न आनाकानी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले भारतमा रहेकाहरुको विवरण नभएको बताए। अहिले सुदूरपश्चिममा सबैभन्दा बढि जोखिम भारतका प्रभावित क्षेत्रहरुबाट फर्किनेहरुबाट रहेको छ। फागुन यता सुदूरपश्चिमका नौ वटै जिल्लाका झण्डै दुई लाख मानिस स्वदेश फर्किएका छन् उनीहरु मध्ये करिब ७० हजारलाई १४ दिने अनिवार्य क्वारेन्टिनमा राखिएको छ।
तथ्याङक संकलन गरेका स्थानीय तहहरुले पनि अनुमानको भरमा विवरण तयार पारेका देखिएको छ। स्थानीय तहले नै संकलन गरेको विवरण अनुसार अछाममा झण्डै ८० हजार जना भारतमा रहेको स्थानीय प्रशासनले जनाएको छ। उनीहरु मध्ये झण्डै १५ हजार मात्र फर्किएको र बाँकी उतै रहेको दावी गरिएको छ।
भारतमा समेत लकडाउन खुकुला भईसकेकाले सबै जना नफर्किएपनि अहिलेकै हाराहारीमा फर्किन सक्ने प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल बताउँछन्। उनले त्यसरी फर्किनेहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गरी थप संक्रमण फैलिन नदिनतर्फ सचेत रहेको दावी गरे।
अहिले क्वारेन्टिनमा बसिरहेकाहरु अवधी पूरा गरेर फर्किने क्रम समेत जारी छ। सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरुबाट कोरोनाको जोखिम बढि भएपनि स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका निकायले जोखिम न्युनीकरणका पूर्व तयारी गर्न वेवास्ता गरेकै कारण जोखिम बढ्ने देखिएको छ।
प्रदेशमा कोरोनाको प्रभाव परेको दुई महिना सम्म भारत तथा तेस्रो मुलुकमा रहेकाहरुको विवरण समेत संकलन नहुनुले राज्यका निकाय गम्भीर नबनेको स्पष्ट पारेको दावी गरिएको छ।