"आभार जिन्दगी"
एस स्लोक
फेरि बाँच्न सिकाइस् तैंले मलाई
उपहार के दिऊँ जिन्दगी तँलाई,
संघर्ष दिइस् सफलता दिइस्,
कहिले कठोर बनाइस् कहिले सरलता दिइस्,
अवसर दिइस् चुनौती दिइस्,
बैरीहरुको झुण्ड दिइस्,
अनि मुठ्ठीभर साथी दिइस्,
र दिइस् यी ओठबाट कहिल्यै नजाने मुस्कान बैरीहरु जलाइ,
उपहार के दिउँ जिन्दगी तँलाई,
खुट्टा तान्नेहरु दिइस्,
आफ्नो मान्नेहरु दिइस्,
आफ्नो ठान्नेहरु दिइस्,
गन्तव्यमा सँगै हिँड्नेहरु दिइस्,
बीच गन्तव्यमै छोड्नेहरु दिइस्,
जे होस् सुन्दर यात्रा त दिइस्,
कहिले अन्धकार दिइस्,
र सधैं उज्यालोको उपहार दिइस्, बनेर दीयो अनि सलाई,
उपहार के दिऊँ जिन्दगी तँलाई।