सुशान्त सिंहले आत्महत्या गरेपछि सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा
अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै अभिनेता सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर भएको छ। खानका साथै निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेश विरूद्ध फौजदारी मुद्दा परेको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बुधबार एक वकिलले बिहार अदालतमा मुद्दा दायर गरेका छन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।
ती आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख गरिएको छ।
'काइ पो चे’, ’धोनीस् द अनटोल्ड स्टोरी’, ’पीके’, ’ब्योमकेश बखÞ्शी’ र ’छिछोरे’ जस्ता लोकप्रिय फिल्ममा काम गरेका सुशान्त सिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। बिहारको पटना घर भएका सुशान्त टिभी सिरियल ’पवित्र रिश्ता’बाट चर्चामा आएका थिए। पछि उनले बलिउडमा आफ्नो स्थान बनाए। उनी लामो समयदेखि डिप्रेसनमा रहेको बताइएको छ।