सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारी खेतीमा रमाएको बैतडीको ‘किचार बस्ती’

२०७७ कार्तिक २५, ०७:३८ लखन चौधरी

धनगढी : बैतडी जिल्लाको पाटन नगरपालिका–९ किचार खाली डाँडाका ५५ वर्षीय हरिसिंह बिजलेको उमेर ढल्के पनि उनीमा उही युवा जोसजाँगर छ । व्यावसायिक तरकारी खेतीप्रतिको उनको लगाव अहिलेको होइन, उनी ३२ वर्षदेखि निरन्तर क्रियाशिल छन् ।

उनी भन्छन् ‘हाम्रो जनजीवन कृषिमय छ । यसैमा रमाउँछौ । पहिले परम्परागत तथा निर्वाहमुखी थियो । करिब १ दशक बढी भयो म मात्रै होइन पूरै गाउँ नै व्यावसायिक तरकारी खेतीमा रमाएको छ ।’

२० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका बिजलेले २ रोपनीमा प्याजको बेर्ना मात्रै राखेका थिए ।

२ लाख रुपैयाँ बराबरको प्याजको बेर्ना मात्रै विक्री गरेको बताउँदै उनले वर्षमा ५० लाख रुपौयाँको कारोबार तरकारी खेतीबाट मात्रै हुँदै आएको जानकारी दिए ।

उनी भन्छन् ‘सम्भावना गाउँघरमै छ । यतिको गर्न सकेपछि अरु के चाहियो र जीन्दगीमा ? घर परिवार संग रमाउँन पाएकै छौ ।’ 

उनको खेतमा अहिले आलु, बन्दा, काउली, धनिया, खुर्सानी, टमाटर, करेलालगायत तरकारी तयारी अवस्थामा छ ।

खाली डाँडाका स्थानीय युवा हरिश चन्दको पूरै परिवार पनि गाउँमै व्यावसायिक तरकारी खेतीमा रमाएको छ । १० वर्षदेखि तरकारी खेतीमा रहेको चन्द परिवारले १५ रोपनीमा खेती गर्दै आएको छ । 
चन्द भन्छन् ‘तरकारी खेतीको लागि खाली डाँडा अति नै राम्रो क्षेत्र हो । हामी वार्षिक १५ लाखको कारोबार गर्दै आएका छौ ।’

स्थानीय युवा चन्दका अनुसार खाली डाँडाका सबै स्थानीय तरकारी खेतीमा कम्मर कसेर लागेका छन् । 

१५ घरधुरी रहेको खाली डाँडाका स्थानीयले वार्षिक ४ करोड बढीको तरकारीको कारोबार गर्दै आएका छन् । चालु सिजनमा मात्रै १५ सय टन बन्दा उत्पादन भएको चन्द बताउँछन् ।

घर–घरमा आफ्नै गाडी
खाली डाँडाका स्थानीयको तरकारी खेतीले जीवनस्तर क्रमिक रुपमा सुधार हुँदै गएको छ । उनीहरु आत्मनिर्भर भएका छन् । सबैको घरमा तरकारी ढुवानी गर्ने आफ्नै सवारी साधन छ । 

हरि मल्टी एग्रो फर्ममार्फत व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक बिजलेले ४ वटा आफ्नै गाडीमार्फत विभिन्न शहरहरुमा तयारी आपूर्ति गर्दै आएको बताउँछन् ।

स्थानीयले उत्पादित कृषि उपज नेपालजञ्ग, धनगढी, बुटवल, महेन्द्रनगर, पोखरालगायत देशको प्रमुख शहरहरुमा आपूर्ति गर्दै आएका छन् ।

जयपृथ्वी बहादुर सिंह राजमार्ग बनेपछि स्थानीयलाई तरकारी खेतीमा हौस्याएको छ । स्थानीय युवा चन्दले सो राजमार्गको खोड्पेदेखि बझाङसम्मको सडक खण्ड निर्माण भएपछि त पूरै किचार क्षेत्र नै तरकारी खेतीमा लागेको बताउँछन् । 
करिब ५० घरधुरी रहेको किचारका करिब ९८ प्रतिशत स्थानीय व्यावसायिक तरकारी खेतीमै संलग्न छन् ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस