सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ थिए भारतीय पेन्सनधारी, १२ गते थियो मृतक पार्वतीको छोराको बिहे

बैतडी जीप दुर्घटना

२०७७ मंसिर ९, ०७:०५ लखन चौधरी

धनगढी: बैतडीको दशरथ चन्द नगरपालिका ५ बसकोट निवासी पार्वती चन्द (७० र ७२) एउटै नाम भएका दुई देउरानी र जेठानी केही दिनपछि छोरा रवीन्द्र चन्दको विवाह धुमधामले गर्ने तयारीमा जुटेका थिए ।

मंसिर १२ गते हुने बिहेको तयारीको लागि पेन्सन बुझ्न उनीहरु बैतडीबाट महाकाली नदी पारी रहेको भारतको झुलाघाट पुगेका थिए । सोमबार त्यता गएका उनीहरूले एक राति भारतमै बिताए । 

पेन्सन थापीवरी मंगलबार उनीहरू स्वदेश नेपाल त फर्किए। तर घर पुग्ने क्रममा अनायासै अस्ताए, सम्भवत टार्न सकिने एउटा सडक दुर्घटनामा परेर। धुमधामसँग छोराको विवाह गरेर नव दुलही (बुहारी) भित्राएर नवदम्पतीलाई आशिर्वाद दिने उनीहरूको सपना साकार हुन पाएन।

मंगलबार झुलाघाटबाट गोठलापानी फर्किँदै गरेको जीप सडकबाट अचानक करिब २ सय ५० मिटर तल गुल्टिएर भयानक दुर्घटना भयो र पार्वती द्वयसहित पाँचजनाको मृत्य हुनगयो। चालकसहित पाँच घाइते छन्। दुर्घटनाको कारण प्रस्ट छैन।

दुर्घटनापछि शोकमा डुबेका र निकै विचलित भएका उनीहरूका नाति विनोद चन्दले दिनेशखबरसँग भने–‘के सोचेका थियौँ, के भइहाल्यो आज । पर्सि हुने बिहेको लागि घरमा तयारी चलेको थियो । सबै चकनाचुर भयो ।’

बिहे हुन लागेका रवीन्द्र चन्दका बुवा हर्क चन्द र उनका सहोदर भाइ जीतबहादुर चन्द भारतीय सेनाबाट सेवा निवृत भएका थिए । उनीहरू केही वर्ष पहिले नै दिवंगत भइसकेका थिए। 

आज मृत्यु भएका पार्वतीद्वय आ–आफ्ना दिवंगत श्रीमानको नाममा पाउँदै आएको पेन्सन बुझ्न सीमा पारी झुलाघाट पुगेका हुन् । 

मंगलबारको दुर्घटनामा परि ती देउरानी जेठानी मात्रै होइनन्, अन्य ३ जनाको पनि घटना स्थलमैँ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय र दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावडको मृत्यु भएको हो । 

उनीहरु पनि एकै जीपमा सीमा पारी भारतमा पेन्सन बुझ्न गएका थिए । तर पेन्सनको कोशेली आफ्ना सन्तानलाई सुम्पिन नपाउँदै अस्ताए ।

मृतकका आफन्तका अनुसार उनीहरु अघिल्लो पटक गत असार २८ गते पेन्सन बुझेका थिए ।

स्थानीय प्रशासनले पेन्सरहरुलाई नै लक्षित गरी नेपाल-भारत सीमा नाका सोमबारदेखि ५ दिनको लागि खुला गरेपछि उनी पेन्सन बुझ्न गएका थिए । एक जना पेन्सरले मासिक २० हजारदेखि २२ हजार भारतीय रुपैयाँ बुझ्दै आएका छन् ।

दशरथचन्द नगरपालिका १० का वडाअध्यक्ष गगनसिंह बिष्टले पछिल्लो समय बैतडीमा भएका श्रृंखलाबद्ध सडक दुर्घटनाले त्रास फैलिएको बताए । उनले “गाडी चालक र प्रशासन तथा ट्राफिक प्रहरीको लापरवाहीले दुर्घटना” हुँदै आएको बताए ।

यसैबीच मंगलबार दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका–४ का अन्दाजी ४० वर्षीय गोपाल सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

चालक कार्कीको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । 

सम्बन्धित समाचार :
बैतडी जीप दुर्घटना अपडेटः को हुन् मृतक र घाइते ? नामावली
बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस