अम्बु बिहानीका चार मुक्तक
एक झोक्का बतासहरू आउँछन् र छोएर जान्छन् ।
गुम्सिएर प्रशस्त पीडाहरू आउँछन् र रोएर जान्छन् ।
शीतजस्तै बनन् तिमी पनि प्रिय मेरा लागि सधैभरी ,
झर्छन् अन्धकारमा अनि सारा मैलो धोएर जान्छन् ।
ए चिकित्सक आउनोस् म बाँचेको प्रमाण जुटाउन ।
पत्थरकै भएको यो मुटुलाई सक्नु हुन्छ त छुट्टयाउन ?
हजार सपना देख्ने यी आँखाहरू फेर्नुपरेको छ मलाई
सक्नुहुन्छ त रहर नजाग्ने कुनै औषधि त्यो दिलाउन ?
मलाई छुने मन छ उदासीएका तिम्रा हर प्रहरलाई ।
अनि फेरि धुने मन छ पहेलिएका अनेक रहरलाई ।
तिमीले बोकी हिँडेको निराशाको पहाड बिसाउन ,
मलाई प्यूँने मन छ विषालु प्रीतको त्यो जहरलाई ।
पराईको भन्दा पनि , आफन्तकै चियो हुन्छ ।
पीडा अति धेरै हुन्छ ,घोच्ने सानो सियो हुन्छ ।
नआतिनु मान्छे तिमी , हुँदा एक्लै यो सफरमा ,
बाहिर अन्धकार हुँदा ,बल्ने मनको दियो हुन्छ