सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतै मैले पन दुखाएँ कि देबुको मन ?

२०७५ भदौ २१, ०३:४४

सानैमा बुवाले छोडेर गए । उनलाई थाहा छैन बुवा कस्ता थिए । थाहा होस् पनि कसरी त्यो बेला उनी जम्मा पाँच महिनाका थिए । पाँच महिनाको उमेरमा टुहुरा बनेका देबु ओरा ३ वर्षका हुँदा नै बुवा खोज्न थाले । गाउँघरतिर जब उनले अरुका बुवा देखे तब खोज्न थाले बुवालाई । घरमा बारम्बार प्रश्न गर्न थाले  “सबैका त बा छन् मेरा वा खै ?” परिवारका सदस्यहरुलाई निकै ठूलो धर्मसंकट पर्न थाल्यो । खै कसरी बताउनु र सत्यता त्यो अवोध बालकलाई । बाल मस्तिष्कमा कुनै प्रकारको पीडा र निराशाले बास नगरोस् भनेरै होला दिदीले बजाउन थाल्थिन् मादल जबजब उनले प्रश्न गर्थे । देबु मादल बजेपछि निकै नै रमाउँथे । त्यही मादलको घिन्ताङघिन्ताङले डेरा जमाए छ क्यार उनको कलिलो मस्तिष्कमा । ‘दिदीले बजाएको त्यही मादलको तालसँग रमाउँदै बनेको हुँ यत्तिको’ –निकै नै भावुक मुद्रामा सुनाएका हुन् उनले । हो त्यही नै मादलले  बनाएको हो उनलाई आजको देबु वोरा । 
  बहादुरसिं वोराका पाँच छोरा र एक छोरी मध्यका सबैभन्दा कान्छा देबुले २०३४ सालमा देखेका हुन यो धर्ती । हुने बिरुवाको चिल्लो पात भनेझैं सानैदेखि एक्लै नाच्थे रे आँगनमा । उनी सम्झिन्छन्– ‘त्यो जुनेली रात, गाउँमा कसैको बिहे थियो । बिहेमा बाजा बजेको सुनेपछि नाचेको थिएँ  एक्लै आफ्नो आँगनमा ।’ आमाले भन्नु भएछ – ‘मान्छेले देखेपछि फलानाको छोरो बहुलायो भन्ने हुन । यो के गरेको तैले ? आइजा भित्र ।’ जति नै अटेरी बने पनि आमाको सामु त्यो सानो बालकको के नै सीप चल्थ्यो र । पाखुरो समातेर भित्र लगिछन् आमाले ।

धनगढीको सरस्वती राष्ट्रिय प्रा.बि. मा चार कक्षामा पढ्थे उनी । काकापट्टीको भाइको पास्नीमा पाहाडबाट छलिया नाँच्न पाँच सात जनाको एउटा समूह बोलाइएको रहेछ । त्यतिबेलै खुट्टामा लाउने कल्ली घाटीमा लाउने गलाबन्दी जस्ता गहनाहरु र पोशाक निकै बेर गहिरिएर हेरेका हुन् उनले । हर्षोल्लासको रुपमा गरिने नृत्य हो छलिया । बाइसे चौबिसे राजाका पालामा र त्योभन्दा अगाडी पनि विजयपछिको हर्षोल्लासमा एउटा वर्गले छलिया नृत्य देखाउँने गर्दथ्यो । यसमा कोहीले हातमा रुमाल लिएर नृत्य गर्छन् भने कोहीले खुकरी अथवा तलवार र रुमाल समातेर नृत्य गर्छन् । हिजो आज प्रायः बिहे पास्नी भोजहरुमा यो नृत्य देखाइन्छ । उनी भन्छन् –‘यो एक अनौठो नृत्य छ । जहाँ बालकदेखि बृद्धसम्मका जसले पनि जीउ हल्लाउँछन् । अझ भनौ यो नृत्यमा आपसेआप सबैको जीउ हल्लिन्छ । मञ्चमा वा समूहमा सहभागी बनेर नृत्य गर्नु नगर्नु छुट्टै कुरा हो ।’ कुराकानीकै सिलसिलामा उनी थप्छन् – ‘पूर्वमा सीधा ढल्केर नृत्य गर्छन् भने मध्य तथा सुदूरपश्चिममा भुँइतिर ढल्केर घुम्छन् । भुँइतिर लच्केर नाच्छन् ।’ 
पहाडबाट आउनेहरुले छलिया नाँचेर देखाएको दुई तीन महिनापछि दसंैको अवसरमा सरस्वती राष्ट्रिय प्रा.बि. मा सांस्कृतिक कार्यक्रम गरिएको रहेछ । दस बजे राती स्टेजमा देखापरेका थिए उनी । सबै दर्शकहरुले उनको नृत्यको प्रसंसा गरेछन् । कार्यक्रम हेर्न पुगेका ऐश्वर्य बिद्यानिकेतनका शिक्षकहरुले त दोस्रो दिन आफ्ना बिद्यार्थीहरुलाई पनि सिकाइदिनु भनेर निम्तो नै दिएर गएछन् । ऐश्वर्य बिद्या निकेतनमा जनम जनमको बोलको गीतमा केही बिद्यार्थीहरुलाई नृत्य सिकाएछन् । जहाँ दुइवटा नृत्य आफै पनि प्रस्तुत गरेछन् । केही समय पछि युनेस्को क्लबमा दुईतीन वटा सो देखाए छन् । बजारमा उनको निकै नै चर्चा हुन थालेछ । केही वर्षपछि सुदूरपश्चिमाञ्चल सांस्कृतिक समूहभित्र आवद्ध भएछन् । टिकट काटेर नृत्य हेर्ने चलन सुरु गरिएछ धनगढीमा । धनगढी नाइट भनेर कार्यक्रम भएछ जहाँ देबुले पनि आफ्नो नृत्य प्रस्तुत गरेर स्यावासी बटुले छन् । 

पछि जनचेतना जोगाउने उद्देश्यले कुष्ठरोग सम्बन्धी सडक नाटक खेल्ने अवसर मिलेछ जहाँ सँगै नाटक खेल्ने अर्का पात्र थिए रे डोटीका प्रेम बि.क. । २०५७ सालमा उनै प्रेम बि.क.ले निर्देशन गरेको नारीको आवाज शीर्षकको नाटकमा खेल्न देबुलाई डोटी बोलाए छन् । त्यति बेला डोटीमा नाटक महोत्सव चलिरहेको थियो । संयोगले त्यही भेटिए डा. तुलसी भट्टराई र नीर शाह । देबुले राम्रो नृत्य गर्छन् भन्ने कुराको गाँइगुँई सुनिसकेका रहेछन् नीर शाहले । र त देबुको नृत्य हेर्ने इच्छा जाहेर गरे । त्यति बेला देबुलाई फास्टबिटको गीत खोज्न निकै कठिन भएछ । सिलगढी बजारमा डुल्दै जाँदा भेटाए छन् बझाङका कटक नेपालीले गाएको क्या राम्रो देउलको जिल्ला वरिपरि खेती बोलको पुरानो गीत । त्यही गीतमा नृत्य प्रस्तुत गरेछन् उनले । उनको नृत्यबाट प्रभाबित भएर नै नीर शाहले उनलाई काठमाण्डौ आउने निम्तो दिएका हुन रे । त्यही वर्ष काठमाडौं पुगेर नीर शाहलाई भेटे । तिनै नीर शाहले उनलाई प्रज्ञाप्रतिष्ठानमा जागिर मिलाइ दिए । प्रज्ञाप्रतिष्ठानमा उनले पाँच वर्ष जागिर गरे । त्यही जागिरको दौरानमा मालति मंगले, सहनशीला सुशीला, अम्बरसिंह जस्ता नाटकमा खेल्ने अवसर पाए । नाम चलेका निर्देशकहरुसँग सिक्ने मौका पाए । जिन्दगीको बिस्कुनमा बिस्तारै घामका किरणहरु छाउन थाले । मनमा ऊर्जा थपिदै गयो । अमरसिंह नाटक खेल्ने क्रममा काठमाडांैकी जमुना तिवारीसँग प्रेम बसेछ । पछि त्यही प्रेम बिवाहमा परिणत भएछ । अहिले दुइ छोरा र श्रीमतीका साथ काठमाडौंमै डेरा लिएर बसिरहेका छन् । 
धनगढीबाट काठमाडौं प्रवेश गर्दा उनी २२ वर्षका थिए । जागिर गर्ने क्रममा सुरुसुरुमा कसैले वास्ता गर्दैनथे  । जीउभरि टासेका ५१ वटा मुमबत्ती जलाएर नृत्य प्रस्तुत गर्दा दर्शकहरु चकित परेछन् । निकै नै रुचाए सबैले उक्त नृत्य । त्यसपछि धेरै जसो ठाउँमा उनलाई उक्त नृत्य देखाउन प्रतिवन्ध लगाइयो । हलमा आगलागी हुन सक्छ भनेर राष्ट्रिय सभागृह, राष्ट्रिय नाचघर, प्रज्ञाप्रतिष्ठान लगाएतका हलहरुमा आजका दिनसम्म पनि उक्त नृत्य देखाउन प्रतिवन्ध लगाइएको छ । 
त्यही नृत्यकै कारण केही समयपछि नेपाल टुरिज्मबोर्डबाट उनको खोजी भयो । सम्पर्कसुत्र बने उनै नीर शाह । प्रस्ताव आएछ सिङ्गापुरमा नृत्य गर्न जानलाई । उनले उक्त प्रस्ताव सहर्ष स्वीकारे । लगतै कोरीयाको लागि प्रस्ताव आयो । बिस्तारै उनको बाटो खुल्दै गयो । कोरियाको कार्यक्रममा धेरैजसो राष्ट्रबाट आएका थिए सहभागि कलाकारहरु । देबुको मुमबत्ती नृत्यको फोटो होडिङबोर्डमा देखेपछि ओइरिएका थिए रे दर्शकहरु । हलमा बस्ने ठाउँ नै थिएन । कोरियामा सुदूरपश्चिमको टिपिकल छलिया ड्रेसमा सजिएको नौजवान देखेपछि धेरैले निकै नै गहिरिएर हेरेछन् उनलाई । उनी भन्छन् – ‘कैयौ मान्छे सामुन्ने आएर हात मिलाए । आफ्नै भाषामा खै के के भने । सायद बधाई दिएका होलान् । नृत्यको प्रसंसा गरेका होलान् । कोरियन भाषाको ज्ञान नभएकाले मैले केही बुझिनँ । मात्र मुस्कुराइरहेँ ।ʼ
२०६३ सालमा भारतको जवहारलाल कलेजमा छलिया नृत्य देखाएर दर्शकहरुलाई मोहित तुल्याएका  थिए  । दिल्लीको अशोका होटलमा मुमबत्ती नृत्य देखाउँदा साथमै थिए  टुरिज्म बोर्डबाट दिवाकर राणा । उनै राणाले लगेका हुन उनलाई भारतमा । दिवाकर राणाले उद्घोष गरेछन् – “यो नृत्य ध्यान दिएर हेर्नू ।” अनि हलमा बत्ती निभाउनदेखि देबुको जीउमा टाँसिएका क्यन्डिल सल्काउनसम्म राणा आफै पुगे । टाउको, छाती, पिठ्यु, पेट, पाखुरा अनि खुट्टामा टासिएका ५१ वटा क्यान्डिल हुर्रहुर्र जलिरहँदा देबु आफ्नै सुरमा संगीतको तालमा मग्न भएर नाँचिरहे । नृत्य सिध्दिए पछि होटेल मालिक राज निगमले भनेछन् – ‘तपाइले नाँच्दा मेरो होटेल नै हल्लियो । तपाइसँग अद्भुत प्रतिभा रहेछ । तपाई यतै बस्नोस् म तपाइको लागि केही गर्छु ।’ देबुले राज निगमको उक्त प्रस्ताव अस्वीकार गरेनछन् । उनले उत्तर दिएछन् –‘म आफ्नै देशमा केही गर्छु । मैलै मेरो संस्कृतिमा धेरै काम गर्न बाँकी नै छ त्यसैले म यहाँ बस्न सक्दैन ।’
 

उनी भन्छन् – “मलाई अवार्ड र पदको मोह बिलकुल छैन । कुनै दिन सुपको कला संस्कृति काठमाडौं र बिदेशमा कसरी पुग्यो भन्ने कुराको खोजी होला यदि यो फिल्डमा अरु काम गर्न सक्यो भने ।  तर संस्कृति नै रहेन भने हामीले आफुलाई कसरी चिनाउने । यो सोचनीय पाटो हो ।” त्यही भएर पनि उनी जहाँ जान्छन त्यहाँ आफ्नो संस्कृति देखाउन पछि पर्दैनन् । 
तपाईको समूहमा नृत्य गर्नेमा सु.प.का कति जना छन् ? भन्ने प्रश्न गर्दा उनले निकै नै उदाश भएर भने – “पहिले त थिए तर अहिले कोही छैनन् ।” म एकोहोरो खोतल्दै गएँ उनी विगत सम्झिँदै गए । काठमाडांैमा उनलाई यो क्षेत्रमा सहयोग गर्ने एउटा अर्को नाम हो बीना जोशी । उनले पहिलो भेटमा भनेकी थिइन दाइ हामी मिलेर केही गरांै । बीना गायिका बन्न चाहन्थिन् । देबुको आफ्नै क्षेत्र थियो नृत्य । प्रसंसा संरक्षण समूहका अध्यक्ष अम्बादत्त भट्टसँग  बिनाले नै हुन पहिलो पटक भेटाएकि । बीनाकै पहलमा अम्बादत्त भट्टले प्रसंसा संरक्ष समूहको भातृ संस्थाको रुपमा प्रसंसा कला समाज गठन गरिदिए । जसको अध्यक्षमा देबुलाई नै चयन गरे । त्यसपछि काठमाडौंमा मनाइने सुपका गौरा बिसँु जस्ता चाडपर्वहरु र सांस्कृतिक कार्यक्रमहरुमा देबुकै समूहले नृत्य देखाउन थाल्यो । गायिका बन्ने सोच त्यागेर देबुसँगै नृत्य सिकेर उनकै समूहमा मिसिन पुगिन् बीना पनि । देबु भन्छन– ‘बिना बहिनी राम्रो नृत्य गर्ने भैसकेकी थिइन । बिहे गरेर पश्चिमतिरै फर्किन र यो क्षेत्र नै छोडिदिइन् ।ʼ उनीसँगै सुपका तीन चार जना अरु थिए त्यो क्षेत्रमा । करिव सबैले छोडेछन् । अहिले उनको समूहमा छलिया नृत्यदेखि अन्य नृत्यहरुमा देखापर्छिन् धरानकी मेरी राई, काठमाडौकी पार्वती श्रेष्ठ र लक्ष्मी तिवारी । हाल आएर देबु सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका हरेक जातजातीका चाडपर्व र संस्कारमा गरिने टिपिकल नृत्य पस्किरहेका छन् ठाउँठाउँमा । हिजोआज निकै नै ब्यस्त छन् । घरपरिवारलाई समेत समय दिन धौधौ परिरहेको छ । 
देबुले हिजो आज कालो पुलमा रहेको आफ्नै प्रसिद्धि कला समूह स्थापना गरेका छन् । जहाँ मोडर्न र साँस्कृतिक दुबै नृत्य सिकाउँछन तर कार्यक्रमा टिपकिल साँस्कृतिक नृत्य देखाउँछन् । उनी भन्छन् – ‘करिब चार पाँच सय शिष्य तयार गरेँ मोडर्न नृत्यमा । अहिलेसम्म बिशुद्ध कल्चरल नृत्य सिक्नेको संख्या मुस्किलले एकसय पचास पुग्ला ।ʼ उनका केही शिष्यहरु बिदेशतिर छन् बेलाबखत फोनमा जोडिएर सरसल्लाह माग्छन ।
पहिरन र गहनामा कहिल्यै सम्झौता नगर्ने देबुको नृत्य देखेर आमा र दिदीले कैयौं पटक खुसीका आँसु झारिन । देबुले देशबिदेश धेरै ठाउँमा नृत्य देखाउँदै आइरहेका छन् । काठमाडांैमा सुरुका दिनमा उनलाई क्यान्डिल नृत्यले नै चिनाएको हो । विगतमा रातारात चर्चाको शिखरमा पनि त्यही नै नृत्यले पु¥याएको हो । जुन नृत्य आमा र दिदीले देख्न पाएकी छैनन् । ती दिदी जसले देबुलाई पहिलो पटक मादलको तालमा रम्न सिकाइन तिनलाई पनि देबुको क्यान्डिल नृत्य हेर्ने ठुलो धोको छ । बिडम्बना उनी उक्त नृत्य देखाउन हल पाइरहेका छैनन् । 
करिब दुइघण्टाको भलाकुसारी पछि छुट्टिने क्रममा उनले भनेका थिए – ‘सर सु.प.का मान्स भेट्दा आफ्नी भाषामी कुरडी गद्द खोजन्छु तर कोइकोइ नेपालीमाइ जवाफ फर्काउनाछन् रे असजी लागन्छ । कटक्क मन खान्छ ।” उनको यो कुराले म आफै निन्द्राबाट ब्यूँझे जस्तो भएँ र निकैबेर सोचिरहेँ –बिचमुणो कत्तेइखि नेपाली बोल्ले भइबर कतै मैले पन दुखाएँ कि देबुको मन ?

कमेन्ट लोड गर्नुस