डा.भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक
पूर्वपरराष्ट्रसचिव डा.मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ। उनीद्वारा नेपालीमा लिखित दोस्रो पुस्तकका रुपमा उक्त कृति आज लोकार्पण गरिएको हो।
साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको पुस्तकमा हालसम्म परराष्ट्र सचिव भइसक्नुभएका २४ पूर्वसचिवले गर्नुभएको कामका साथमा उनको पारिवारिक अवस्थामा बारेमा उल्लेख गरिएको छ। यसैगरी पुस्तकमा मुन्सीहरुको प्रशासनिक दबदबाका विभिन्न पाटालाई उजागर गरिएको छ।
सात सालपछिको राजनीतिक प्रणाली परिवर्तनपछि अहिलेसम्मका परराष्ट्र सचिवको काम र योगदानमा प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने व्यक्तिलाई पनि पुस्तकको कथ्य बनाइएको छ भने छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तक बोलेको छ।
सन् १९७७ को लोकसेवा आयोगका परीक्षामा पहिलो भएर निजामती सेवा प्रवेश गर्नुभएका डा भट्टराईले कूटनीतिक सेवामा झण्डै चार दशक बिताएका छन्। डा.भट्टराई कूटनीतिक सेवाका क्रममा नयाँ दिल्लीमा उपनियोग प्रमुख, जर्मनी र जापानका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका प्रवक्ता, परराष्ट्र सचिव र राष्ट्रपति विद्यादेवी भण्डारीका विदेश मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारसमेत भएका छन्।
उहाँले अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि र महाविद्यावारिधि उपाधि प्राप्त गरेका छन्। यसअघि उनको नेपालीमा ‘परराष्ट्रका पात्र’ तथा अङ्ग्रेजीमा दुई पुस्तक प्रकाशन भइसकेका छन्। अघिल्लो कृति नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा रहेका मन्त्रीदेखि परराष्ट्र नीतिका सम्बन्धमा उल्लेख गरिएको छ।