सुदूर नेपाललाई विश्वसँग जोड्दै

युटोपिया नहोस् मेरो आँखाको देश

२०७५ भदौ २८, ०६:४७

हामी ठहरियौँ अमालका हाकिम
 आफ्नै गौंडामुनि भयौँ म्लेच्छ 
परजीवी,पराश्रित 
पुगेन हाम्रो अँकाइ
 पुगेन हाम्रो उचाइ 
यौवन गुमाइसकेको
 निगूढ़ सोच पालेर
 वर्तमान तुहेको हेरिरहने 
बुख्याँचाहरू 

सघन पीडासित
 मुर्दा शान्तिसित 
आत्मरति गर्न पल्केका छौँ 
हाँक नभएका निरोहरू
 अझै तारनहार पर्खिरहेछौँ 
जताततै भौँप्वालहरूबनिसके
 भौँप्वालभित्र बुर्जुवाहरूको 
हतियार छन् छुपाइएका 
आँखा बन्द छ वर्तमानको
 आगतको पदचाप सुन्ने कान छैन
 अक्षरहरूको निनादमा दम छैन
 लाखौं हातहरू छन् 
एउटै फलाम हुन सकेन 
लाखौं सन्तानहरू छन् 
एउटै हीरा बन्न सकेन 
हराइपठाएका तमसुकहरू
 खोजी ल्याउने छिँवल भएनन् 
बाटुलो झ्यालबाट पस्दैछ दमन
 एक पसर उज्यालोसम्म छैन
 जाबो एउटै औलाले
 मेटाउन सक्दो रहेछ मानचित्र
 र हाँक्न सक्दो रहेछ कमजोर
 धरातल 
युगीन विसङ्गतिको थैलो च्यापेर
 हिँड़िरहेछौँ हामी लघुमान्छे
 कता हिँडेका हामीरु 
कहाँ पुग्ने हामीरु 
ओहोर( दोहोर जत्ति छ 
पुरानो त्यही कथा छ
 हिसाब मिलाउने मेलोमेसो छैन
 नयाँ इतिहास कोर्ने कलम छैन
 पानीका फोका हौँ हामी प्याट्ट फुटिहाल्ने 
वायुपङ्खी घोडा हौँ हामी 
उफानहरूमा भौतारिरहने 
हिरोसिमा र नागासाकीमा जसरी 
कुनै दिन नझरोस् बम
 र भाग्न नपरोस् हाम्रा पाउहरू
 खोइ हाम्रो आकाश
खोइ हाम्रो प्रकाश
पुगेन हाम्रो अँकाइ
 पुगेन हाम्रो उचाइ 
......................
 हे ईश्वर 
युटोपिया नहोस् मेरो आँखाको देश।

 

कमेन्ट लोड गर्नुस