सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाफ रे बाफ !

२०७५ भदौ २९, १२:५६

यो बाटो भएर
यदि कोही हिँड्छ भने

यो देशको एउटा सिंहदरबार हिँड्छ
यो देशको एउटा बालुवाटार हिँड्छ
जेबमा न्यायालय बोकेर
यो देशको एउटा प्रधानमन्त्री हिँड्छ

मेरा नानीहरू तर्सिने गरी
साइरन बजाउँदै हिँड्ने
याद छैन मलाई ती मन्त्रीहरूको नाम

हिँड्न त यहाँ
संसद् भवनको कुर्सीमा
पिसाब फेर्न पल्केका सांसद्हरू हिँड्छन्

लाउँछ भादगाउँले टोपी
समाउँछ वर्दीको कठालो
र, दौरा सुरुवालमा
यहाँ ठाँटिएर हिँड्छ–गुन्डाको नाइके

स्वयम् पशुपतिनाथले
रक्षा गर्न नसकेपछि
आफैँ पेस्तोल बोकेर हिँड्छ–त्यहीँको पुजारी

“शान्ति सुरक्षा दिन हामी कटिबद्ध छौँ”
भर्खर मैले सुनेको छु
यस्तो घिनलाग्दो गृहमन्त्रीको वक्तव्य

यो बाटो भएर
यदि कोही हिँड्छ भने

वर्गीकृत विज्ञापनमा
आफ्नै पासपोर्ट र नागरिकता हराएका जवान सूचनामा हिँड्छन्

जहाज टिपेर हिँड्छ–मेरो देशको भविष्य
दलको वैशाखी टेकेर हिँड्छ विद्यार्थी
बोक्छ प्लेकार्ड
लगाउँछ नारा
हान्छ–देशको तालुमा ढुंगा

बाफ रे बाफ !

यतैमात्र
किन काटिरहन्छ कालो बिरालोले बाटो ?

जुन बाटोमा
आदिबासी हिँड्छन्
जनजाति हिँड्छन्
महिला, दलित हिँड्छन्
मधेसी हिँड्छन्
क्षेत्री, बाहुन हिँड्छन्
तर, मान्छेहरू हिँड्दैनन्

यो बाटो भएर
यदि कोही हिँड्छ भने
कात्रोको खोजीमा आफै हिँड्छ लास

ओ,
बचेखुचेका नागरिकहरू हो
तिमी चाहिँ जिब्रो बोकेर
किन अर्कै बाटो हिँडिरहेछौ ?

 

कमेन्ट लोड गर्नुस