सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १४ वर्षीय विभूतिले लेखे खण्डकाव्य ‘अद्भुत इन्द्रेनी’

२०७७ चैत्र ३, ०९:०१ नारायण अवस्थी

धनगढीः धनगढी उपहानगरपालिका वडा नम्बर ३ का १४ वर्षीय विभूति अधिकारीले अद्भुत इन्द्रेनी लेखेका छन्।

धनगढीकै सिद्धार्थ शिशु सदनमा कक्षा ९ मा अध्ययनरत विभूतिले शास्त्रीय छन्द विधामा खण्डकाव्य सिर्जना गरेर अद्भुत क्षमता देखाएका छन्। उनको सो कृति चैत्र २ गते एक समारोहकाबीच धनगढीमा विमोचन भयो।

बुवा रामप्रसाद उपाध्याय र आमा गायत्री भट्टराईको कोखबाट २०६३ साउन ५ गते सुदूर पूर्व इलाममा जन्मिएका विभूतिले कलिलै उमेरमा सुदूरपश्चिम कैलालीबाट छन्द कविता रचनामा आफ्नो सशक्त उपस्थिति जनाएका छन्।

बाल कवि विभूतिले ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्यमा ३ सय ४७ श्लोकमा सिङ्गो विशाल नेपालको भूगोल, नेपाली समाज र संस्कृतिको त्रिवेणीलाई कुशलतापूर्वक उतारेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालका शब्द सापटी लिएर भन्ने हो भने १४ वर्षीय कविले अत्यन्त बौद्धिक एवं सूचनामूलक खण्डकाव्यको जन्म दिएका छन्। 

‘अद्भुत इन्द्रनी’ प्राकृतिक इन्द्रेनी नभएर सप्तरङ्गी नेपाली समाजको द्योतक हो। नेपाली भूगोल, प्रकृति, संस्कृति, समाज र जीवनपद्धतीमा पाइने अद्भुत प्रकारको सप्तरङ्गी यस खण्डकाव्यले साँच्चै गहिराइमा पुगेर हेरेको छ।’ प्राज्ञ नेपालले टिप्पणी गरेका छन्।

‘विभूति अधिकारीको यो ऐतिहासिक र विस्मयकारी आगमनलाई नेपाली साहित्यको इतिहासले मूल्यांकन गर्नै पर्छ।’  प्राज्ञ नेपालले पुस्तकको भुमिकामा उल्लेख गरेका छन्।

छन्द अभियानकर्ता नेपालले विभूतिको कविता कृतिलाई एउटा उच्चकोटीको काव्यिक समाजशास्त्रको संज्ञा दिएका छन्।

कोरोना भाइरसका कारण लकडाउन भएको समयलाई उपयोग गरेर बालक विभूतिले साहित्यानुरागीलाई काव्यिक भेट दिएका छन्। आफ्नो उमेरभन्दा निकै परिपक्व कविता रचना गरेर विभूतिले आफूभित्र रहेको सम्भावनाको ढोका खोलेका छन्। साहित्यिक क्षितिजमा भोलिका दिनमा श्रीसूर्य झै प्रदिप्त हुन सक्ने सम्भावनालाई बालकविले संकेत गरेका छन्।

विभूति अधिकारीको सिर्जनात्मक कार्य लोभलाग्दो छ। लोभलाग्दो यसकारण छ कि कविताको घनत्व र फैलावट उनको उमेरभन्दा निकै गह्रुङ्गो र असीमित छ। सर्जकले खण्डकाव्यलाई समर्पण, हिमाली खण्ड दर्शन, पहाडी खण्ड दर्शन र तराई खण्ड दर्शन गरि चार खण्डमा समेटेका छन्।  चारै खण्ड सूचना, वर्णन अनि कवित्व भावका हिसावले निकै सशक्त छन्। कविले भाव यसरी पस्केका छन्ः 

मेरो देश सदा जयी अमर यो वीरत्वको भावमा
मेरो देश त हाँस्छ यो अजर भै सौन्दर्यको काखमा
भैगो बेरसिलो भने हजुरमा माफी सदा माग्छु हे
छातीको यस अंश अर्पण सदा नेपाललाई गरे।
                       (समर्पण, श्लोक  ८)

अद्भुत इन्द्रनीमा विभूतिले शार्दूलविक्रीडित, अनुष्टुप, मधुमाधवी, शिखरणी र स्रग्धारा गरि पाँचओटा शास्त्रीय छन्दको प्रयोग गरेका छन्। छोटो समयको काव्यिक सतसंगमा पनि कविले छन्दको गहनता बुझेर प्रयोग समेत गर्न सफलता प्राप्त गरेको प्रमाण उनको यो खण्डकाव्य स्वयं हो। शिखरिणी छन्दमा कवि लेख्छन्ः

जिमी हावाद्वारा प्रकृति हुन गो सुन्दर कवि
सदा बग्ने खोला सलल कविता सिर्जन छवि
पखेरा पाखा यी अमर हरिया संस्कृति कला
दिने नौलो आशा सुमन झरना काव्य रसिला।
                    (पहाडी खण्ड दर्शन, श्लोक,११२)

उमेरले कवि निकै कलिला देखिन्छन् तर उनमा नेपाली समाज, संस्कृति र सभ्यताको अनुपम ज्ञान रहेको र हाम्रो सांस्कृतिक नीधिको संरक्षण गर्न यसरी आह्वान गर्दछन्।

सम्पूर्ण संस्कृतिहरु अब साँच्न थालौँ
यो सभ्यता प्रगतिको नभ चुम्न थालौँ
हेर्दा निकै विविधता छ हिमाल भेग
उस्तै छ सुन्दर कला र समष्टि देश।
(हिमाली दर्शन खण्ड, श्लोक ११२)

बालकवि विभूतिले आफ्ना बुवा, आमा र गुरुजनको प्रेरणा र आशिर्वादले छन्द कवितामा पर्दापण गर्ने प्रेरणा प्राप्त गरेको बताएका छन्। उनले आगामी दिनहरुमा साहित्यिक साधना र अध्ययनलाई समान हिसावले अगाडि बढाउने बताएका छन्। कविले समान रुपले हिमाल, पहाड र तराईको भावनात्मक विचरण गरेका छन्। कविले तराईलाई मुटुको उपमा दिएका छन्। उनी लेख्छन्ः

तराई मुटु हो हाम्रो अनि पूर्ण भयो तन
दह्रो मुटु भएकोले विजयी जनजीवन।
(तराई दर्शन खण्ड,श्लोक ८४)

बालकवि विभूतिको कविताले पाठकलाई नेपाली धर्तीको त्रिलोक विचरण गराउने सामथ्र्य राखेको छ। हिमाल,पहाड र तराईको भूगोल, जनजीवन, संस्कृति मात्रै होइन कला र साहित्यको महिमा समेत उजागर गर्ने प्रयास गरेका छन्।

हिँड्छन् बढ्छन् कलाले कविकलमहरु सिर्जनामा कलाले
हुन्छन् शैली कलाले प्रखर चहकिलो तिर्सनामा कलाले
बाच्छन् हाँस्छन् कलाले कवि अनि कविता कल्पनामा कलाले
जाग्छन् आशा कलाले ऋषि मनु मनमा भावभङ्गी कलाले।

           (तराई खण्ड दर्शन, श्लोक,११२)

निकै साने उमेरमा चेतनाको प्रयोग गरि शब्दहरुको उच्चतम् संयोजनबाट काव्यिक रसपान गराउन सफल बालकवि विभूतिलाई निरन्तर काव्य साधनामा लाग्ने प्रेरणा र हौसला सदैव प्राप्त होस्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस