सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफैं हिंसामा परेपछि सामाजिक अभियन्ता बनेकी शारदा

मेरो कथा श्रृंखला–१०

२०७५ मंसिर १४, ११:१२ आरजु

शारदा चन्द । यो नाम प्रायः धेरैले सुनेको नाम हो। शारदा सुदूरपश्चिम मात्र होईन पछिल्लो समय महिला अधिकारको क्षेत्रमा राष्ट्रिय स्तरमै सशक्त महिलाको पहिचान बनाउन सफल भएकी छन् उनी।  कञ्चनपुरलाई आधार क्षेत्र बनाएर घरेलु हिंसा विरुद्ध लडिरहेकी शारदाले लैङ्गिक हिंसाका घटनालाई मुद्दा बनाएर आन्दोलनको अगुवाई गर्दै आएकी छन्। २०३३ सालमा डोटीको बाण्डुरसैनमा जन्मेकी शारदा आफू स्वयंम घरेलु हिंसाको शिकार भएपछि लैङ्गिक हिंसा विरुद्धको अभियानमा लागेको बताउँछिन्। 

चन्दका बुबा महाकाली अञ्चल अस्पतालमा जागिरे हुम्दाका बखत नै उनी एक वर्षको उमेरमा महेन्द्रनगर झरेकी हुन्। अञ्चल अस्पतालको सरकारी आवासमै बाल्यकाल बिताएकी शारदाले कञ्चनपुरको वैजनाथ उच्च माध्यमिक विद्यालयबाट एसइई  सम्मको अध्ययन र त्यसपछि भारतबाट प्रविणता तह सम्मको अध्ययन गरिन्। स्नातक तहमा भर्ना भएपनि विविध कारणले उनको अध्ययन पूरा नभएको हो। चन्द थरका केटासँग प्रेम सम्बन्धमा परेपछि १६ वर्षको उमेरमा शारदा (बोहोरा) ले अन्तर जातीय विवाह गरेकी हुन्।

सुरुमा शारदाका श्रीमानले उनलाई भगाएर भारत लगे। विवाहपछि उनका घरेलु हिंसाका दिन सुरु भए। २०४७ सालमा परिवारको सहमति विना उनको प्रेम विवाह भएको थियो। परिवारले नस्वीकार्दा आफूमाथि हिंसा हुन थालेको शारदा बताउँछिन्। उनको परिवारले उनलाई तल्लो जातको भन्दै घरमा बास दिदैन्थे। कयौँ वर्ष खोला र गोठमा बसेको बताउने शारदाले खनिया, अम्बाका दाना र कलिला पातहरु खाएर जीवन धानेको अनुभव सुनाईन्।

परिवारले नलको पानी खान नदिदा खोलाको पानी पिउँथिन उनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको खेत थियो, शारदाले भनिन्, “दाउरा ल्याउन जंगल गएकी थिए, मैले खोलामा पानी पिए, त्यहाँ माछा मार्न विष हालेको रहेछ र म मुर्छा परे अनी स्थानीयले अस्पताल लगेपछि म बाचेकी हुँ ।” घरमा जग्गा जमिन प्रशस्त र खान लाउन पुग्ने हँुदा हुदै दाउरा बिक्री गरेर जीवन निर्वाह गरेको शारदाले बताईन्। अभावै अभावमा जीवन बिताएकी शारदाले दाउरा बिक्री गरेरै छोराछोरी पालेकी हुन्। यसरी घरेलु हिंसामा परेपछि शारदा निधारमा कालो कप्फन बाँधेर लैङ्गिक हिंसा विरुद्ध  सडकमा उत्रिएकी हुन्। कञ्चनपुरको दैजीकी रामदुलारी राना हत्याकाण्डपछि चर्चामा आएकी शारदाले अहिले लैङ्गिक हिंसा विरुद्धको अभियानलाई निरन्तरता दिएकी छन्। चर्चित निर्मला पन्त हत्याकाण्डको आन्दोलनको अगुवाई समेत उनले गरेकी छन्।  

२०६३ सालमा महेन्द्रनगरको घाडीघाँचका नरेश धामीले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हात काँटेको सुनेपछि उनलाई खोज्दा खोज्दै संयोगले एक अर्की पीडित महिलासँग भेट्न पुगिन्। कपाल सेताम्य भएकी, दाँत पुरै फुक्लिएकी पार्वती जोशीलाई खोलामा एक्लै भेटिएपछि उनले आफू चार दिनको भोको, गोठको बास, जमिनदारका गाई बाख्रा हेर्ने गोठालाले कुटिरहने दर्दनाक पिडा सुनेपछि पार्वतीको उद्दार गरिन्।

त्यसपछि उनको अर्को अभियान सुरु भयो त्यो हो वृद्धाश्रम। पार्वतीको उद्दार गरेर आफ्नो घर ल्याएपछि नै उनले महेन्द्रगरमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरेर सहयोग संकलन गरिन्। कार्यक्रममा उठेको ९२ हजारमध्ये खर्च कटाएर ७२ हजारबाट महेन्द्रनगरको वनखेतमा बृद्धाश्रम सञ्चालन गरेको शारदा बताउँछिन्। त्यो त्यही वृद्धाश्रम हो, जहाँ अहिले सहारा विहीनहरु सहारा लिएर बसेका छन् भने हिंसा पीडित महिलाले पनि आश्रय लिएर बसेका छन्। महिला तथा बृद्ध सेवा केन्द्रले असहाय बृद्धबृद्धा, हिंसा पिडित महिला, किशोरी समेत गरेर ६५ जना भन्दा बढीलाई आश्रय दिएर राखेको छ।

महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष समेत रहेकी शारदालाई सबैले आमा भनेर बोलाउने गर्छन्। मुठ्ठी दानबाट सञ्चालन हुदै आएको बृद्धाश्रममा आश्रित आमा बुवा र महिला तथा किशोरीका लागि आवश्यक पर्ने सामानको प्रबन्ध शारदाले दानदाताहरुबाटै गर्दै आएकी छन्। असहाय आमाबुबाको शारिरीक सरसफाई पनि शारदा आफैले गर्छिन्। शरिर नुहाई दिने, नङ, कपाल काटिदिने, लुगा धुने लगायतका काम शारदाले गर्छिन्।       

        
 
  

कमेन्ट लोड गर्नुस