सिटी स्क्यान खरिद सम्झौता भएको १४ महिना, भएन सञ्चालन
धनगढीः आर्थिक वर्ष २०७७/०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि ९ करोड बजेट विनियोजन ग¥यो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गर्यो।
पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। ५ लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा उक्त मेसिन खरिद गर्ने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि एक वर्ष बढी हुँदासम्म बेवास्ता भइरहेको छ। तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रष्ठले भने अबको एक महिनाभित्रै उक्त मेसिन सञ्चालन हुने बताए। ‘भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मेसिनको भन्सार छुटका लागि सरकारलाई आग्रह गरेका छौं।’
सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असारमा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग सम्झैता भएको थियो। करसहित १ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो। तर अहिलेसम्म पनि उक्त भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको छैन। तर अस्पतालले भने भवन निर्माणको काम अन्तिम चरणको पुगेको बताएको छ।
प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन अति आवश्यक उपकरण हो। अहिले सेतीमा सिटी स्क्यान मेसिन नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान गर्न बाध्य छन्। सेतीमै सिटी स्क्यान सेवा सञ्चालन भएमा प्रदेशवासीलाई सहज हुने विश्वास गरिएको छ।
तर अझै पनि उक्त मेसिन सञ्चालनमा आउन एक महिना लाग्ने अस्पतालका सूचना अधिकारी श्रष्ठले बताए। ‘भन्सार छुटका लागि संघीय सरकारलाई पत्र पठाएका कारण अझै एक महिना समय लाग्ने देखिएको छ,’ उनले भने। सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरू सास्ती खेप्न बाध्य छन्। उक्त सेवाका लागि अस्पताल पुग्ने बिरामीलाई अहिले निजी अस्पतालहरूमा पठाइने गरिएको छ।