आठ वर्षमा पनि पूरा भएन दार्चुलाको खलङ्गा–खार–देथला–पारीबगड सडक
दार्चुला: सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारीबगड सडकखण्ड आठ वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन ।
कुनै बेला बजेट अभावले त कुनै बेला बाढीपहिरोले क्षति गर्दा सडक निर्माणमा खासै प्रगति हुन सकेको छैन । सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४, बङ्गाबगडदेखि नौगाड गाउँपालिकाको दल्लेख हुँदै मार्मा र अपिहिमाल गाउँपालिकालाई जोड्ने प्रदेश गौरवको सडकलाई आव २०७५/७६ मा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडक घोषणा गरी निर्माण सुरु गरेको थियो ।
निर्माणकै अवस्थामा रहेको सडक बर्खायाममा हिलाम्मे हुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्सातमा दैनिक जसो परिरहने पानीका कारण सडकमा परेका खाल्टाखुल्टी, हिलाम्मे र चिप्लो भएपछि यात्रु तथा यातायात व्यवसायीले सास्ती भोग्नु परिरहेको छ ।
सडकको खलङ्गादेखि दल्लेखसम्मको १६ किलोमिटर क्षेत्रको अधिकांश स्थानमा सवारीसाधन सञ्चालन गर्न निकै कठिन हुने गरेको यातायात व्यवसायीले बताएका छन् । बर्खाका बेला सडकमा जमेको हिलो र खाल्टाखुल्टीका कारण यात्रु र व्यवसायीलाई सास्ती भइरहेको यातायात व्यवसायी एवं स्थानीय हरकसिंह नगालले बताए।
९५ किलोमिटर लम्बाइ रहेको सडकको सबै ट्र्याक खुलिसकेको भए पनि २०७९ साल भदौमा गराकुखोलामा आएको भीषण बाढीले खलङ्गाभन्दा माथिको सात किलोमिटर क्षेत्र पूर्णतया क्षति पुर्याएको थियो । सदरमुकाम खलङ्गादेखि नौगाड गाउँपालिका–२, दल्लेकसम्मको १६ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पुर्याएको सडक निर्माण कार्य भइरहेको पूर्वाधार विकास कार्यालय, बैतडीका अधिकृत इन्जिनियर जितेन्द्रसिंह धामीले जानकारी दिए।
सडकको थप निर्माण कार्यका लागि गत असार १ गते सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सात करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सो बजेट फेल भएको छ भने नयाँ सरकार गठन भई नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ । यहाँका स्थानीयले प्रदेश गौरवको सडकको निर्माण पूरा गर्ने गरेर बजेट विनियोजन गर्न माग गरेका छन् ।
हाल सडकको अवस्था ठिक नहुँदा यात्रु लामो समय बाटोमै अलपत्र पर्ने, आकस्मिक बिरामी तथा कृषकलाई कृषि उपज बजारसम्म पुर्याउन समस्या सिर्जना भइरहेको छ । अहिले ९५ किलोमिटर सडकमध्ये १९ करोडमार्फत आठ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने कार्य भइरहेको उनले बताए। आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत तीन वर्षभित्र सडकलाई कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको भए पनि हालसम्म ट्र्याकसमेत स्तरोन्नति गरिएको छैन ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोर अन्तर्गत ट्र्याक खोलिएको २८८.५ किलोमिटर क्षेत्रमा गाडी गुडेको छ । बर्सातका बेला कोरिडोरको केही क्षेत्रमा पहिरो खस्ने समस्या रहेको भए पनि अधिकांश क्षेत्रमा सहजै गाडी गुड्न सक्ने अवस्था रहेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका इन्जिनियर एवं सूचना अधिकारी दिनेश रैखोलाले जानकारी दिए।
कोरिडोरको शून्यविन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि हिमाली जिल्ला दार्चुलाको चीनसँगको नाका तिङ्करभन्ज्याङसम्म ४१३ किलोमिटर लम्बाइ रहेको छ । कोरिडोर निर्माण सुरु भएको १८ वर्षमा सरकारले चार अर्ब रुपियाँ खर्च गरेको छ भने २८८.५ किलोमिटर ट्र्याक खोलिएको उनले बताए।
कोरिडोरको डडेलधुरा क्षेत्रमा हालसम्म पाँच किलोमिटर सडक कालोपत्रे गरिएको छ । कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलास्थित ७९ किलोमिटर सडकको निर्माण विगत छ वर्षदेखि नेपाली सेनाले गर्दै आएको छ । -गाेरखापत्रबाट