८ वर्षअघि बलात्कार भएको मोडलको गुनासो, भएको के रहेछ ?
काठमाडौं: ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन्।
मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन्। उनले बलात्कार गर्ने को हुन भन्ने खुलाएकी छैनन्। तर, आफूलाई बलात्कार गर्ने एक जना अनलाइन खबर डटकमका फोटो पत्रकार र अर्का कन्सल्टेन्सी संचालक रहेको उनले बताएकी छन्।
ती युवतीले भनेका अनलाइन खबरका फोटो पत्रकारको नाम र फोटो सार्वजनिक नभए पनि अर्का मोडेल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे रहेको खुलेको छ भने उनको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
माल्भिका सुब्बा पनि मुछिइन्
उक्त घटनामा मिस नेपाल २००२ माल्भिका सुब्बा पनि मुछिएकी छन्। आफूमाथि बलात्कार भएको सार्वजनिक गर्ने युवतीले भिडियोमा सुब्बाको नाम लिएकी छन्।
घटनाबारे जानकारी दिँदा सुब्बाले केही गर्न नसक्ने भन्दै गैरजिम्मेवार तरिकाले जवाफ दिइएको आरोप भिडियोमा लगाइएको छ।
त्यसबारे उनले भनिन्, ‘मिस नेपाल सुब्बालाई कल गरे। तिम्रो समस्या मलाई किन सुनाइरहेको भन्नेर जवाफ दिनुभयो।’
पीडितको भनाई:
ममाथि के भएको थियो भनेर थाहा पाउनका लागि मेराबारे तपाईंहरुले केही कुरा थाहा पाउनुपर्छ । ६–७ वर्षको हुँदा नै मैले ३–४ वटा फिल्म खेलेकी थिएँ । म ठूलो भएपछि म मोडल वा नायिका हुन्छु भन्ने थियो ।
हाउस अफ फेसनमा अडिसनका लागि गएको थिएँ, म छानिइनँ । तर अडिसनको फोटो आएपछि मैले एकजना (पीडक) बाट मेसेज पाएँ । उसले मलाई फोटोसुट गरौँ भनेर भने । म असाध्यै खुसी थिएँ । किनभने म मोडल बन्न चाहन्थेँ । म त्यहाँ गएँ, एउटा प्रतिष्ठित अनलाइनका फोटोपत्रकारले मेरो फोटो खिचे । ती दुबैजना मिलेर मेरो फोटो खिचे । उनीहरुले मलाई पाँच हजार पनि दिए । ती पीडकले मलाई आफूले सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैले त्यसमा भाग लिनुपर्ने पनि उनले बताए ।
मैले त्यसअघि पनि सुन्दरी प्रतियोगितामा भाग लिइसकेको थिएँ । त्यसैले मैले त्यो कुरा मानेँ । म उक्त सुन्दरी प्रतियोगिताको फर्स्ट रनर अप पनि भएँ । मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु, उहाँ हाम्रो त्यतिबेलाको कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसैको नाम पनि उल्लेख गर्दिनँ । मलाई कसैले यस्तो गर्नका लागि आग्रह पनि नगर्नुहोला । किनभने यत्रो वर्षपछि मैले राखेको प्रमाणहरु पनि मसँग छैन । मैले कल रेकर्डिङ, टेक्स्ट मेसेज सबै राखेकी थिएँ, मेरो ड्राइभमा । तर यत्तिका वर्षहरुमा मैले ती रेकर्डिङ र टेक्स्ट मेसेज हेरेर एक्लै रोइरहन्थे । त्यसैले मैले सबै डिलिट गरेँ, सम्भवतः २०१८ तिर । अहिले मसँग कुनै पनि प्रमाण छैन ।
म फर्स्ट रनर अप भएपछि ती पीडकले मलाई फोन गरे । फोनमा ती व्यक्तिले ‘तिमी रेडी भएर आऊ, किनभने हामी सक्सेस पार्टीको आयोजना गरिरहेका छौँ ।’ म उनले बोलाएको एभरेष्ट होटल गएँ । त्यहाँ जाँदा मैले कोही पनि देखिनँ । खोइ त सबै जना ? मैले सोधेको जवाफमा उनले भने, ‘तिमी अलि नै छिटो आयो, हाम्रो पार्टी ६–७ बजेतिर सुरु हुन्छ । त्यसैले तिमी बस्दै गर’ ।
केही समयपछि एकजना वेटर आए, लेमोनेड लिएर । उनले मलाई त्यो ‘वेलकम ड्रिङ्क’ हो भने । मैले त्यो खाएँ । त्यसको १०–१५ मिनेटमा मलाई झुम्म लागेको जस्तो भयो । त्यसपछि मैले ती पीडकलाई म घर जान्छु भनेँ । म त्यतिबेला सहज महसुस गरिरहेकी थिइनँ । त्यसपछि उनले मलाई असाध्यै गाली गरे, ‘तिमी बिजेता भएर यस्तो गर्ने ? भोलि मान्छेले के भन्छ, मिडियाले के भन्छ ?’ मलाई पनि हो जस्तै लाग्यो ।
यस्तै हुन्छ भनेर मैले एउटा रुम लिएर राखेको छु । किनभने केटीहरुले आज पिउन पनि सक्छन् भन्ने लागेको थियो। गाह्रो भएको केटीहरुलाई राख्नका लागि मैले एउटा कोठा लिएर राखेको छु, तिमी जाउ, त्यहाँ आराम गर । सबैजना आएपछि तिमीलाई बोलाउन कसैलाई पठाउँछु भने ।’ म त्यहाँ गएँ ।
म त्यतिबेला १६ वर्षकी थिएँ । मेरो घरीघरी मात्रै होस खुलिरहेको छ, त्यतिबेला उनले ममाथि बलात्कार गरिरहेका थिए । मेरो कहिलेकाँही मात्रै होस खुल्थ्यो । मेरा होस खुलिरहेका बेला उनले मलाई बलात्कार गरिरहेको थाहा पाउँथेँ । मलाई असाध्यै दुखिरहेको थियो । मेरो बिहान साढे पाँच, साढे ६ बजेतिर मात्रै पूर्ण रुपमा होस् खुल्यो । मैले मसँगै एक नग्न व्यक्ति सुतिरहेको देखेँ । म पनि पूर्ण रुपमा नग्न थिएँ । बेडमा रगत थियो । त्यसपछि म असाध्यै ठूलो स्वरमा रुन थालेँ । त्यसपछि त्यो मान्छेले मलाई ‘मैले तेरो ब्यागमा २० हजार हालिदिएको छु, तँ त्यो लैजा’ भन्यो ।
उसले मलाई के भनिरहेको थियो भने, ‘तँलाई पैसा चाहिएको थियो, पैसाका लागि मसँग यौनसम्बन्ध राख्नु भनेर भनिरहेको थियो । त्यसैले हामीले यस्तो गरेका हौँ ।’ म ढोका नजिकै उभिएको थिएँ । ढोका बन्द थियो । नग्न । मैले पैसालाई हेरिरहेको थिएँ, मैले त्यो केटालाई हेरिरहेको थिएँ । मैले आफूलाई ऐनामा हेरिरहेको थिएँ । ममाथि जे भयो, त्यसलाई मैले विश्वास नै गर्न सकिरहेको थिइनँ । मैले यो विश्वास गर्न सकिनँ कि म बलात्कृत हुन सकूँला । किनभने म शिक्षित थिएँ, म पहिलादेखि नै एकदमै स्ट्रङ नेचरको मान्छे थिएँ, असाध्यै बोल्नुपर्ने तर मैले त्यतिबेलाको वास्तविकतालाई स्वीकार गर्नै सकिरहेको थिइनँ ।
उसले मलाई मैले तेरो फोटो, भिडियो खिचेको छु, तैँले कसैलाई भनिस् भने तेरो फोटो मिडियामा सार्वजनिक गरिदिन्छु भनेर धम्की दियो । म असाध्यै आत्तिएँ । मैले आफ्नो लुगा लगाएँ । ब्याग लिएँ, उसले मेरो लागि ट्याक्सी बोलाइदियो, मेरो मोबाइलमा दुई सय बढी मिसकल थियो, मेरो आमाबुवाको । किनभने म त्यसदिन घर फर्किने वाला थिएँ ।
उसले मलाई धम्की दिएपछि मैले त्यो कुरा कसैलाई पनि भन्न सकिनँ । म रुन पनि सकिनँ । यो सिलसिला ६ महिनासम्म चल्यो । उसलाई सेक्स गर्न मन लागेको बेलामा मलाई फोन गरेर बोलाउँथ्यो । म जान्थेँ । मलाई असाध्यै घिन लाग्थ्यो, उसले मलाई धेरैथरी गर्न लगाउँथ्यो । उसले मलाई उसको साथीहरुसँग पनि सुत्न बाध्य तुल्यायो, त्यो पनि उसको अगाडि । म यसबारे डिटेलमा भन्न सक्दिनँ । किनभने यो सुन्ने मान्छे नै विक्षिप्त हुन्छन् ।
एक समयमा त म यति असहाय महसुस गर्न थालेँ कि मलाई मर्न मन लाग्यो । मरेपछि यो सबै पीडा समाप्त हुन्छ भन्ने लाग्थ्यो । मैले आत्महत्या गर्नै लागेको थिएँ, त्यतिबेलाका मेरा प्रेमीले मलाई फोन गरे । म असाध्यै विक्षिप्त भएर उनलाई सबैकुरा भनेँ । उनले मलाई यो मलाई पहिला नै किन नभनेको, म तिमीलाई पहिला नै सहयोग गर्थेँ भन्यो । उसले मलाई त्यतिबेला निकै सहयोग गर्यो । मलाई असाध्यै साहस दियो । ऊ र म भएर, त्यो मान्छेको कन्सलटेन्सी पनि छ, त्यहाँ गयौं । हामीले सबै मान्छेलाई बाहिर निकालेर, कन्सल्टेन्सीको स्टाफहरुलाई त्यहाँ राखेर, त्यो मान्छेलाई त्यहाँ राखेर, त्यो फोटोग्राफरलाई त्यहाँ राखेर । मसँगै बिजेता बनेकी एकजना केटी पनि आएकी थिइन्, सबैजनालाई राखेर, मैले उनीहरुलाई सबै टेक्स्ट मेसेज देखाएँ । सबै कल रेकर्डिङ बजाएर र सबैजनालाई उनले ममाथि के कति गरे भनेर बताएँ । मेरो त्यतिबेलाका प्रेमी अत्यधिक रिसाए । उनले ती व्यक्तिमाथि कुटपिट पनि गरे । मैले एक झापड हान्न भ्याएँ ।
त्यो कन्सलटेन्सीमा काम गर्ने एकजना दाइलाई मेरो कुरा सुनेपछि यति नराम्रो लागेछ कि उनले ‘दाइ म तपाईंसँग काम गर्न सक्दिनँ, प्लिज मलाई तलब पनि नदिनु, मलाई फोन पनि नगर्नु, म आजदेखि यहाँबाट निस्किएँ’ भनेर उहाँ निस्केर जानु भयो ।
त्यतिबेला मैले ती मिस नेपाललाई फोन गरेँ । त्यतिबेला मैले उनलाई ‘म्याम, यी व्यक्तिले यत्तिका दिनदेखि मलाई यस्तो यस्तो गर्दै आएका छन्, ममाथि यस्तो कुरा भइरहेको छ, यो ६ महिनासम्म चल्यो र मैले आफ््नोबारे धेरै पछि कुरा गर्न सक्ने भएको छु । हामी यो अफिसमा छौँ । कृपया यहाँ आएर, हामीलाई सहयोग गरिदिनुहोस् न भनें ।’
उनले मलाई जे भनेकी थिइन्, ठ्याक्कै त्यही भन्दै छु, ‘तिमीले मसँग यो कुरा किन गरिरहेकी छौ । तिमी बलात्कृत भयौ भने त यो तिम्रो समस्या हो, यो मेरो समस्या होइन, मलाई किन सुनाइरा ?’ त्यसपछि उनले फोन काटिदिइन् । मैले उनलाई आइडलको रुपमा हेर्थेँ । मलाई थाहा छ, तपाईंले यो हेरिरहनुभएको छ। अन्तरवार्तामा महिलावादको कुरा गर्दा, म महिलाहरुलाई सहयोग गर्छु, मलाई जसले आएर जे भनेपनि म उसलाई सहयोग गर्छु भनिराख्दा कस्तो महसुस हुन्छ ? त्यतिबेला तपाईं ३३ वर्षकी हुनुहन्थ्यो, म १६ वर्षकी।
ठिक छ तिमीले त्यो संस्थाबाट पैसा लिएको छौ, त्यो मान्छेबाट पैसा लिएको छौ, कोरियोग्राफरको रुपमा, त्यो मान्छेको नुन खाएको भएर सोझो गर्यौ । म यसमा पूर्ण सहमत । तर एउटा महिला भएको नाताले, अर्की बालिकालाई समर्थन गर्नुपर्ने होइन ? तपाईंले अर्को वा अरु कसैको नम्बरबाट फोन गरेर, ‘के गरिरहेको छौ बच्चा, कसरी अघि बढिरहेकी छौ ?’ भनेर सोध्न सक्नुहुन्थ्यो। किनभने यसले मान्छेलाई अत्ति नै धेरै विक्षिप्त बनाएको हुन्छ नि त । उनले मलाई यो त केही पनि होइन भनेर महसुस गराइन्।
त्यसपछि हामीले पीडकलाई ती सबै फोटो र भिडियो डिलिट गर्न लगायौँ । हाम्रै आँखा अगाडि उनले डिलिट गरे। उसले ब्याकअप राख्यो वा के गर्यो, त्यो थाहा छैन, मलाई मतलब पनि छैन । उसले मलाई अहिले एक्सपोज गर्यो भने पनि मलाई मतलब छैन । यदि कसैले मलाई नग्न देख्यो वा कोहीसँग यौनसम्बन्ध स्थापित गरिरहेको अवस्थामा देख्यो भने पनि अब मलाई मतलब छैन।
पछि मलाई के महसुस भयो भने यो त मेरै गल्ती थियो। सुन्दरी प्रतियोगितामा भाग लिन जानु नै मेरो गल्ती भएको भन्ने मलाई लाग्यो । त्यो मेरो गल्ती थियो कि मैले त्यो लेमोनेड खाएँ । त्यो मेरो गल्ती थियो ।
तर अहिले मलाई के लागेको छ भने त्यो मेरो गल्ती थिएन।
ती किशोरीले आफू समस्यामा परेको घटना सार्वजनिक गरेलगत्तै अहिले पूर्वमिस नेपाल शृंखला खतिवडाले आफू किशोरीको साथमा रहेको र दोषीमाथि कारबाहीको माग पनि गरेकी छन्। उनले घटनाबारे थाहा पाउनेले न्याय दिन नसकेको भन्दै दु:ख पनि व्यक्त गरेकी छन्।
अहिले सामाजिक सञ्जालमा दोषीमाथि कारबाही माग गर्दै धेरै पोस्टहरू पनि बढिरहेको छ।
पीडितले विगतमा आफूले प्रहरीमा जानेबारे आफ्नो केही साथीलाई बताएको भए पनि सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै साथ नदिएकाले नसकेको बताएकी छन्। हाल उनले सामाजिक सञ्जालमा घटनाबारे सार्वजनिक गरेपछि धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी चाहिं पीडितले प्रहरी कार्यालयमा उजुरी नदिएसम्म अनुसन्धान गर्ने आधार नहुने बताएका छन्।
उनले भने, ‘सामाजिक सञ्जालभन्दा पनि अड्डा, अदालत वा प्रहरीको दायरामा नआउञ्जेल अनुसन्धानमा जटिलता हुन्छ। प्रहरीकहाँ उजुरी आए, त्यसको प्रकृति हेरेर अनुसन्धान हुन्छ।’