‘देउवाको गन्तव्य आरजु म्याडम, प्रचण्डको सुपुत्री, माधव गन्तव्यविहीन’
धनगढीः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन्।आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको ओलीको जिकिर थियो।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दूगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए। उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए।
उनले भने, ‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन। नेकपा एमालेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ। आवाज उठाइरहन्छ। यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन। तर, एमालेले हार्दा देश हार्छ। एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ। देशलाई हार्न दिनुहुने छैन। एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दूगर्तिमा लगेको छ। निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ।
गठबन्धनका नेताहरु शेरबहादुर देउवाको गन्तव्य म्याडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दावी गरे। उनले भने, ‘यिनको कुनै गन्तव्य नै छैन। अब मोहन विक्रम सिंहको गन्तव्य प्युठान। शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेव। प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री। यस्ता यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरु। त्यसका लागि जे पनि गर्छन्। यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन्। माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या। उनको गन्तव्यसन्तव्य केही पनि छैन।’
अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दावी गरे।