सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम नगर्ने र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको छः नेता लामिछाने

२०७९ साउन २१, ०५:५५ खबर संवाददाता

रुपन्देहीः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विगतमा नेपाली जनतालाई ढाँटेर राजनीति गरेका दलका नेताहरूलाई अबको निर्वाचनमा मत नदिन आग्रह गरेका छन्। उनले नयाँ पार्टीलाई परीक्षण गरेर हेर्नका लागि माग गरेका छन्। सो पार्टीको शनिवार बुटवलमा आयोजित लुम्बिनी भेलालाई सम्बोधन गर्दै लामिछानेले अबको नयाँ पुस्तालाई देशको संवाहक बनाउन आफू राजनीतिमा आएको बताएका थिए।

‘पुराना दलले के काम गरे मैले तपाईँहरूलाई भन्नुपर्दैन, ६÷६ जना पूर्व प्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गरी अब कसैले मतदान नगर्नुस्, पुराना दलका योजना हेर्नुहोस्, नेतृत्व हेर्नुहोस्, कार्यशैली हेर्नुहोस्’, उनले भने।

लामिछानेले अब यस्ता काम नगर्ने नेतृत्व र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए। ‘आफै पढेको त्रिचन्द्र कलेजको दुरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्क्याई मात्रै राखेका छन्, त्यसैले यस पटक त्यस्ता झुटको पछि नलाग्नुस्, अब गल्ती गरेर देशलाई थप कमजोर बनाउनतिर नलाग्नुस्।’

लामिछानेले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए।

कमेन्ट लोड गर्नुस