सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोलटोलमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउँछः वर्षमान पुन

२०७९ साउन ३१, ०६:५४ खबर संवाददाता

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन्।

मंगलबार १९औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालिकमा पूजा गर्ने दिन आउने बताएका हुन्। 

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए। 

महिलाको नाममा धनीपूर्जाको नीतिले छोरीहरू सम्पत्तिको मालिक भएको, अंश र वंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ता उपलब्धी माओवादीकै कारण आएको उनले बताए।

माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै आपत्ति जनाए। ‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम  प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’, उनले भने, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ। तर, समाज रुपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउँछ।’ 

कमेन्ट लोड गर्नुस