सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, घर घेर्नु गैरजिम्मेवारः ओली

२०७९ असोज २, ०६:४४ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन्। संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताए।

महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए। प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन्। एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन्। सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए। तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै उनले भने, ‘हिजो संसदको अधिवेशन मात्र सकिएन, संसदको कार्यकाल नै सकियो। त्यो महाभियोग प्रस्ताव पारित भएन।’

ओलीले अगाडि भने, ‘दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो। यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। विलम्ब गरेर सफाइ दियो।’ अब संसद सचिवालयले संसदले पास गर्न नसकेको भनेर पत्र दिनुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ। तर सरकारले प्रधानन्यायाधीशको निवास घेर्नु गैरजिम्मेवारपूर्ण काम भएको उनले बताए।

‘बोरिस एल्सिनले संसदमाथि गोलाबारी गरेको थियो। गोलाबारी गरेको थियो ड्याङ कि ड्याङ। अब यस्ता बोरिस एल्सिनहरुसँग संसदका कुरा के गर्ने ? अदालतका कुरा के गर्ने ? कानुनी राजको कुरा के गर्ने ?’ एमाले अध्यक्ष ओलीले भने, ‘यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी हो। यस्तो गैरजिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्ने ओलीले बताएका छन्।

कमेन्ट लोड गर्नुस