रविविरुद्ध लड्ने भन्दै रोइलो मच्चाएका पत्रकार भण्डारी कता हराए ? दिएनन् उम्मेदवारी
धनगढीः सरकारले संसदीय चुनाव घोषणा गरेसँगै कञ्चनपुरका पत्रकार खेम भण्डारीले एक उद्घोष गरे। गत साउन ११ गते उनले रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका थिए।
उनले लेखेका थिए, ‘एक नाबालिग छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने। त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ। निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन्।’ उनले रवि जुन निर्वाचन क्षेत्रबाट लड्छन् आफू त्यहीँ उम्मेदवारी दिने बताएका थिए।
तर, भण्डारीले संसदीय चुनावको मनोनयन दर्ता गराएका छैनन्। हिजो मनोनयन दर्ताको समय थियो। तर, रवि लामिछानेविरुद्ध उम्मेदवारी दर्ता नगरेका हुन्। उनले विविध परिस्थितिका कारण उम्मेदवारी दर्ता गर्न नसकेको जनाएका छन्।
उनले मनोनयन दर्ता नसकेको जनाउँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘रवि लामिछानेको पार्टीले रवि कहाँबाट लड्ने भन्ने निर्णय आज बिहान मात्रै गर्यो। मैले हिजोअस्ती नै चितवनको पुल्चोकमा उभिने कुरा थिएन। आज चितवन पुग्न सम्भव भएन। बडो नाटकीय पारा देखाए रविले। उनी कति डराएका छन् र उनको पार्टी कति पारदर्शी छ भन्ने यसैबाट प्रस्ट हुन्छ। मेरो उम्मेदवारी प्रतिकात्मक मात्रै हुने थियो तर समयाभाव भो, काठमाडौ पनि पुग्न नसकिने भयो। मैले उम्मेदवारी दिन नसके पनि निर्मला प्रकरणमा रविको भूमिका चितवनका जनताले थाह पाउने छन्। मेरो उम्मेदवारीप्रती सकारत्मक धारणा राख्नेहरुप्रती आभार ब्यक्त गर्दै परिस्थितिजन्य मेरो असमर्थताप्रती माफी चाहन्छु।’
रविले भरतपुरको चितवन २ काट उम्मेदवारी दर्ता गरेका छन्। अहिले पत्रकार भण्डारीले रविविरुद्ध लड्ने भन्दै चर्चाका लागि मात्रै रोइलो गरेको भन्दै आलोचना भइरहेको छ।