बाध्यताबस गठबन्धन बनेको हो, अन्तरघात नभए राम्रो परिणाम आउँछः देउवा
काठमाडौँः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन र पार्टीभित्र अन्तरघात नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउने बताएका छन्। उनले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन सबै पार्टीपंति लाग्न पर्ने पनि बताए।
केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर ल्याउन सबैले पहल गर्नपर्नेमा जोड दिए। गठबन्धन बलियो र सवल हुने भनेको कांग्रेस बलियो हुने हो। आगामी दिनमा पनि कांग्रेसले नै सरकार चलाउने हो भन्दै उनले भनेको एक सदस्यले सुनाए, ‘माहोलका लागि पार्टी पंक्तिलाई परिचालन गर्न आवश्यक छ। सबैले इमानदार प्रयास गर्नपर्छ। निर्वाचनमा हामी अगाडि हुनेछौँ।’
गठबन्धनका कारण योग्य कतिपयलाई टिकट दिन असमर्थ रहेकाले कतै न कतै व्यवस्थापन हुने आश्वासन समेत उनले बैठकमा बाडेँ। गठबन्धनका कारण कांग्रेसभित्रै अन्तरघात होला कि भन्ने आशंका रहेको र त्यसो नभएमा कांग्रेसले निर्वाचनमा राम्रो परिणाम ल्याउने उनको दावी थियो। ‘म त पहिल्यै निर्वाचनको पक्षमा रहेको व्यक्ति। मलाई सबैले तानेर यतातिर ल्याएको र यो गठबन्धन बनेको हो,’ बैठकमा देउवाले भने, ‘अब बाध्यताबस यो गठबन्धन बन्न पुगेको हो। रहरले होइन अब यसलाई सफल बनाएर अघि बढ्नुको विकल्प छैन, सबै यसमा लाग्नुपर्छ। इमानदार प्रयास गर्न आवश्यक छ।’