सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–३ मा पूर्वमन्त्री लेखक भर्सेस नेतृ पाल, को बलियो ?

संसदीय निर्वाचन

२०७९ कार्तिक १२, ०६:२९ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुर–३ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ सत्ता गठबन्धनबाट काँग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखक र विपक्षी गठबन्धन एमालेबाट नेतृ निरुदेवी पाल चुनावी मैदानमा होमिएका छन्। उनीहरुबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

यो क्षेत्रमा दुई ठूला राजनीतिक दल काँग्रेस र एमाले दुवै उम्मेदवारबीच नै कडा प्रतिस्पर्धाको माहोल देखिएको हो। कञ्चनपुर–३ मा सत्ता गठबन्धनबाट काँग्रेस–माओवादी र विपक्षी गठबन्धनबाट एमाले–राप्रपाबीच गठबन्धन भएको छ। 
आगामी सरकार एमालेकै नेतृत्वमा बन्नुपर्ने मतदाताको चाहना भएकाले कञ्चनपुर–३ बाट सहजै निर्वाचित हुने विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी पालको दाबी छ।

‘सत्ता गठबन्धन मात्र होइन महा–गठबन्धन भएपनि एमालेकै पक्षमा जनमत छ। महिला दिदीबहिनीहरुले आफ्नो उम्मेदवारीलाई खुलेर समर्थन मात्र गरेका छैनन्, गाउँगाउँमा मतदानका लागि एक प्रकारको लहर नै चलेको देखिन्छ।’

कञ्चनपुर–३ बाट कांग्रेस नेता रमेश लेखक चौथोपटक र एमाले नेतृ निरुदेवी पाल दोस्रोपटक निर्वाचन लड्दै छन्। लेखक २०५६, २०७०, २०७४ र अहिले गरेर चारपटक चुनावी मैदानमा उत्रिएका छन्। एमाले नेतृ पाल २०६५ को उपनिर्वाचन र अहिले गरेर दुईपटक प्रत्यक्ष चुनावी मैदानमा होमिएकी हुन्। 

लेखक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् भने पाल एमाले अध्यक्ष केपीशर्मा ओलीनिकट नेता हुन्। २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेस नेता लेखक एमाले नेता डाक्टर दीपकप्रकाश भट्टसँग पराजित भएका थिए। यसपटक भने सत्ता गठबन्धनको साथ बलियो हुँदै गएकाले जित सुनिश्चित जस्तै भइसकेको नेपाली काँग्रेस कञ्चनपुर सभापति पदम बोगटीको दाबी छ।

‘काँग्रेसले हँसिया हतौडा र माओवादीले रुखमा मतदान गर्ने भएकाले पूर्वमन्त्री लेखक सहजै रुपमा निर्वाचित हुनेछन्। सत्ता गठबन्धन नै वली सर्वसत्तावादीको विरोधमा भएकाले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने सुनिश्चित छ।’

स्थानीय तहको मतभार
दुई पालिका रहेको कञ्चनपुर–३ मा एक पालिका काँग्रेस र एक एमालेले जितेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेस २२ हजार ५८, एमाले १५ हजार ८१६, माओवादी सात हजार ८८३, समाजवादी दुई हजार पाँच सय र राप्रपाले ६ हजार २८० मत ल्याएका थिए। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले ३८ हजार ४१६ र विपक्षी गठबन्धनले २३ हजार २७१ मत ल्याएका थिए। 

तर, आम निर्वाचनका लागि निर्वाचनको माहोल फेरिएकाले एमाले सहजै रुपमा निर्वाचित हुने दाबी विपक्षी गठबन्धनकी उम्मेदवार पालको छ। कुल ९७ हजार ८२२ मतदाता रहेको कञ्चनपुर–३ मा सत्ता गठबन्धनका लेखक र विपक्षी गठबन्धनकी उम्मेदवार पालबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस