सुदूर नेपाललाई विश्वसँग जोड्दै

परमादेशबाट बनेको सरकार भनेर ओलीले झुठ प्रचार गरेः माधव नेपाल

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १, ०६:११ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन्।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं २ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले परमादेशबाट बनेको सरकार भनेर ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे।

तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाइ थियो। उनले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपील गरे।

उनले भने, ‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन। यदि संसदमा बहुमत नभएको भए, संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्वीकार गर्ने अवस्था बन्ने थिएन। परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ । त्यो अत्यन्तै आपत्तिजनक छ। त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्रै हो।’

कमेन्ट लोड गर्नुस