सुदूरपश्चिमको मन्त्रीमण्डल विश्वासको मत माग्न काठमाण्डौँ प्रस्थान
धनगढीः सुदूरपश्चिमको मन्त्रीमण्डल काठमाण्डौँ प्रस्थान भएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल, मन्त्री खगराज भट्टसहितको समूह बिहीवार साढे ९ बजे काठमाण्डौँ प्रस्थान भएको हो। प्रदेश सरकार बिस्तारको छलफल तथा विश्वासको मत माग्न प्रदेशको मन्त्रीमण्डल काठमाण्डौँ गएको हो।
सुदूरपश्चिम प्रदेशसभा, एमाले संसदीय दलको नेता रावल र माओवादी दलको नेता भट्टसहितको समूहले सत्ता गठबन्धनका केन्द्रीय नेताहरुसँग काठमाडौँमा छलफल गर्ने कार्यक्रम छ। उनीहरुले केन्द्रीय नेताहरुसँ विश्वासको मतको बारेमा छलफल तथा निर्णय गर्ने मुख्यमन्त्री रावल स्रोतले बताएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका नेताहरू पनि आजै काठमाडौँ जाँदैछन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रदेशको मन्त्रीमण्डले छलफल गर्ने कार्यक्रम छ। प्रदेशका मुख्यमन्त्री रावलले रेशम चौधरीसँग विश्वासको मतको विषयमा छलफल गर्ने भएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीसँग विश्वासको मत माग्नेछन्।
नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेको छ। आफ्ना माग पूरा नभएको भन्दै नागरिक उन्मुक्तिले विश्वासको मत नदिए प्रदेश सरकार संकटमा देखिन्छ। प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु बिचमा असमझदारी बढेको अनुमान गरिएको थियो।
तर, तेस्रो पटक भएको निर्वाचनमा उनीहरूले पनि सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएका थिए। माओवादीका भीम भण्डारी प्रदेशकाे सभामुखमा निर्वाचित भएका छन। नागरिक उन्मुक्ति पार्टीलाई कुन-कुन मन्त्रालय दिने भन्ने विषयमा पनि काठमाडौँमा छलफल हुने छ।
अहिले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एमालेको राजेन्द्र रावल र अन्य दुई विना विभागीय मन्त्री मात्रै नियुक्त भएका छन्। काठमाडौँमा सहमतिपछि सरकारले विश्वासको मत लिने र सरकार बिस्तार गर्ने योजना छ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मतका लागि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुको मत आवस्यक हुन्छ। प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री रावललाई मत दिएका थिए। उनीहरुले नै मुख्यमन्त्री रावललाई विश्वासकाे मत दिनु पर्ने छ।