सुदूरपश्चिम प्रदेश सभाले बिजनेश पाएन, बैठक अनिश्चित
धनगढीः सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित भएको छ। बुधवार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए। उनले प्रदेश सभा सञ्चालनका लागि कार्यसूचि नभएकाले स्थगित गरिएको बताएका छन्।
सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिँह रावल काठमाण्डौँ छन्। एमाले संसदीय दलको नेता रहेका रावल मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत माग्न काठमाण्डौँ गएका हुन्। प्रदेश सभाबाट उनले विश्वासको लिएका छैनन्। प्रदेश सरकारमा सहभागि दलहरु बिचमा समझदारी भएको भए बुधवार बस्ने भनिएको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी थियो।
नागरिक उन्मुक्ति पार्टीसँग निर्णायक वार्ता नभएकाले समस्या भएको हो। केन्द्रीय नेताहरुलाई विश्वासको मतको वातावण तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री रावल काठमाण्डौँमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसँग भेटघाट तथा छलफल गरेका छन्। केन्द्रीय नेताहरुलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उनले आग्रह गर्दै आएका हुन्।
दलका संरक्षक रेशम चौधरीको रिहा पछि मात्र मुख्यमन्त्रीलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको मुख्य मुद्दा छ। सुदूरपश्चिममा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक हुन्छ। प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्य छन्। नेपाली काँग्रेसका १९ तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु विपक्षमा छन्।