सुदूर नेपाललाई विश्वसँग जोड्दै

'बहुआयामिक संगठनले मात्रै नेपाललाई समस्यामुक्त बनाउँछ'

२०७९ माघ १३, ०४:०० खबर संवाददाता

धनगढीः जरोकिलो महाअभियानका संकल्पकर्ता डा.निर्मलमणि अधिकारीले नेपाल बहुआयामिक संकटमा फसेको हुँदा बहुआयामिक संगठनले मात्रै नेपाललाई समस्यामुक्त बनाउने बताएका छन्। जरोकिलो महाअभियानको सातौँ स्थापना दिवसको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा अधिकारीले यो कुरा बताएका हुन्।

नेपालको भाषिक, धार्मिक, साँस्कृतिक र क्षेत्रीय विविधतालाई सहृदयताको सम्बन्धमा बाँधेर विविधता समस्या होइन, सम्पदा हो भनेर जरोकिलो महाअभियानले स्थापित गरिसकेको उनको दाबी थियो।

यस्तै, जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था सहृदयता अन्तरराष्ट्रिय इजरायलले किराँत सभ्यताको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै खुवालुङ्ग नाटक समूहलाई सम्मान स्वरुप ५१ हजार नाटकका निर्देशक किरण राईलाई डाक्टर अधिकारीले हस्तान्तरण गरे। सम्मानपत्र ग्रहण गर्दै खुवालुङ्ग नाटकका निर्देशक किरण राईले जरोकिलो महाअभियानले नेपालको मौलिक धर्म, संस्कृति, परम्पराको संरक्षणमा उदाहरणीय कार्य गरेको बताए।

स्थापना दिवस कार्यक्रममा जरोकिलो महाअभियानले सम्पन्न गरेको मौलिक धाँ बाजाका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सम्मान पत्र र प्रमाण पत्र वितरण गरिएको थियो । निःशुल्क रुपमा मौलिकतामा आधारित चुनावी गीत सिर्जना गर्नुभएका व्यक्तित्वहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

महाअभियानका विशिष्टीकृत संस्थाहरूका प्रमुखले आ–आफ्नो संस्थाले स्थापना भएदेखि हालसम्म गरेका कार्यहरू छोटकरीमा प्रस्तुत गरेका थिए। कार्यक्रममा सनातन धर्म महासंघ नेपालका अध्यक्ष डाक्टर माधवप्रसाद लामिछाने, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुईटेल, मौलिक जरोकिलो पार्टीका कार्यवाहक अध्यक्ष नुमनाथ प्याकुरेल, सञ्चारयोग मिडियाका प्रबन्ध सञ्चालक सुशील गौतम, जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापति, सहृदयता उद्यमशीलताका अध्यक्ष जोनसोन थापा, नागरिक फाउन्डेसनका अध्यक्ष अरुण पौडेल, प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष टेकराज कोइराला, अखिल नेपाली विद्यार्थी संघका भुवन खत्रीले आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य कृष्णराम प्रजापतिले गरेका थिए भने सञ्चालन युगनिर्माण महिला समाज नेपालकी सचिव मिश्रादेवी कार्कीले गरेका थिए।

कमेन्ट लोड गर्नुस