कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
काठमाडौँः राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ। राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला उम्मेदावर उठाउने तयारी गरेको छ। जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो। अनिता देवकोटा पार्टीको प्रमुख सचेतक रहेका कारण दुईमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ।
पन्त र गुरुङमध्ये पनि पन्त उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ। उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले शनिबार प्रतिपक्षी दलको बैठक समेत बोलाएको थियो। छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए। त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबेदारी नरहेको स्पष्ट पारेका छन्।
‘अन्य कुनै पार्टीको दाबेदार नरहेकाले भोलि कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिन्छ,’ लेखकले भने, ‘आइतबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बसेर यसबारे निर्णय लिनेछ।’ यसअघि माओवादीबाट शशिकला दाहाल राष्ट्रिय सभा उपाध्यक्ष थिइन्। सो पदका लागि आगामी माघ २३ गते सोमबार निर्वाचन हुँदैछ।