पार्टीको बैठक अघि प्रधानमन्त्री र ओलीलाई भेट्न पुगे रवि
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे थिए।
‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने , प्रचण्डलाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताएका छन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजाइले रास्वपाका सभापति लामिछाने र ओलीबिच भेट नभएको जिकिर गरे । सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ ।
तर उनको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रचण्डले अडान लिएका छन् । गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले केही दिन फर्किन आग्रह गरेपछि रोकिएका थिए । लगत्तै बैठक बसेर लामिछानेले शुक्रवार र शनिवार २ दिनको अल्टिमेटम दिएका थिए । सो अल्टिमेटम शनिवार सकिए पनि रास्वपा निष्कर्षविहीन छ ।