सुदूर नेपाललाई विश्वसँग जोड्दै

'भ्रष्टाचार रोक्न काम गर्नेछु, कति दिन मुख्यमन्त्री हुन्छु परबाह छैन'

२०७९ फाल्गुन ६, १०:४६ खबर संवाददाता

धनगढीः मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार हुन नदिन निर्मम भएर लाग्ने बताएका छन्। आफू जति दिन सरकारमा बसे पनि भ्रष्टाचार रोक्न प्रतिबद्ध भएर काम गर्ने उनले बताएका हुन्। राम्रो काम गर्न भनेर जनताले हामीलाई जिताएर पठाएका छन्। धेरै कुरा सिक्न बाँकी रहेको भए पनि आफूमा केही गर्नुपर्छ भन्ने हुटहुटी रहेको भन्दै जति दिन सरकारमा रह्यो त्यति दिन सम्म प्रदेशको समग्र विकास र नीतिगत सुधारका क्षेत्रमा काम गर्ने मुख्यमन्त्री शाहले बताए।

‘म कमिसन खानेवाला छैन’ शुक्रवार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभा तथा वार्षिक प्रगति समिक्षा र अनुभव आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘अहिले भ्रष्ट्राचारको धेरै समस्या रहेको गुनासो आउने गरेको छ, त्यसलाई पनि रोक्ने प्रयास गर्ने छु, जानेको राम्रो गर्छु नराम्रो गर्ने छैन।’

मुख्यमन्त्रीको रुपमा रहेर कतैबाट कमिसन खाएको वा भ्रष्ट्राचार गरेको सुनिएमा आफू जस्तो सुकै कारबाही सहन तयार रहेको उनले बताए।

मुख्यमनत्री शाहले प्रदेशको सामाजिक एकतालाई आफूले विशेष ख्याल राख्ने बताए। उनले प्रदेशबाट टुक्रे योजना बढी जाने गरेको गुनासोलाई पनि सम्बोधन गर्दै त्यस्ता योजना आगामी दिनमा नल्याइने बताए।

‘मन्दिरमा पैसा नदिए, टुक्रे योजना नदिए कार्यकर्तालाई रिझाउन सकिँदैन र खतमै भइहाल्छ भन्ने मानसिकता देखिन्छ,’ शाहले भने, ‘तर हामीले राम्रो काम गरेर जनताको मन जित्न सकिन्छ भन्ने बारेमा सोच्न सकेका छैनौँ। अब टुक्रे योजना र मन्दिरमा लगानी बढाउनु भन्दा जति दिन सेवामा रहन्छौँ त्यति दिन राम्रो काम गर्ने बानी बसाल्नु आवश्यक छ, त्यसका लागि सबैले संकीर्ण सोच त्याग्नु आवश्यक छ।’

मुख्यमन्त्री शाहले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने पालिकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनु पर्ने बताए।

त्यसैगरी जिल्ला समन्वय समितिको भूमिका पनि बढाउनु आवश्यक रहेको उनले बताए।

‘जिल्ला समन्वय समिति नाम मात्रैको संयन्त्र जस्तो देखिएको छ,’ उनले भने, ‘त्यसलाई प्रभावकारी बनाएर सबै पालिकालाई जिम्मेबार बनाउने गरी जिल्ला समन्वय समितिलाई बलियो बनाउन सके त्यसले पालिकाको प्रभावकारिता अझ बढ्न सक्दछ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख कोइलीदेवी चौधरीले प्रदेश सरकार निर्माणमा देखिएको अन्यौलका कारण जनतामा निरासा छाएको भन्दै सबै मिलेर दीगो सरकार निर्माण गरिनु पर्नेमा जोड दिइन्। उनले हरेक बर्ष खेती गर्ने समयमा किसानलाई रासायनिक मलखाद पाउन समस्या हुने गरेको बताउँदै प्रदेश सरकारले त्यसतर्फ गम्भीर हुनुपर्ने बताइन्।

प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइनु पर्नेमा जोड दिए। अहिले जिल्ला समन्वय समिति औपचारिकतामा मात्रै सिमित भए जस्तो देखिएको भन्दै उनले अधिकार सहितको समन्वय संयन्त्र निर्माण गर्न सके पालिकाको प्रभावकारिता पनि बढ्ने बताए।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारका कारण प्रदेश सरकार अस्थिर बनेको बताए।

प्रदेश सभा सदस्य खेमादेवी विष्टले जिल्ला समन्वय समिति प्रमुख स्वर्गीय पदम कलेलको परिवार आर्थिक संकटमा रहेको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

कमेन्ट लोड गर्नुस