ओलीलेनैे केन्द्रीय सदस्य मनोनीत गरेका प्रसाईंले गरे राजीनामा घोषणा
काठमाडौंः नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए। ‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ।’ प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए।
‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने। शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए। प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन्।आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन्।
प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो।