राष्ट्रपतिबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ। फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने नेताहरूले बताएका छन्।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको उम्मेवारबारे हालसम्म भएका छलफलबारे ब्रिफिङ गर्ने र आवश्यक निर्णय लिने तयारी गरेका छन्। पदाधिकारी बैठकपछि प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति जुटाउने उद्देश्यले सर्वदलीय बैठक बोलाउनेसमेत तयारी गरेका छन्।
यही १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। राष्ट्रपतिका लागि नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन्। अहिलेको गठबन्धन जोगाएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीतिमा एमाले छ। पुरानो गठबन्धन ब्युँत्याएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने भन्दै कांग्रेस पनि कम्मर कसेर लागेको छ। राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक शक्ति हो।