प्रचण्डको प्रस्तावः राष्ट्रपतिमा सिटौला वा देउवा मध्ये एक हुनुपर्छ
काठमाडौँः प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका दुई जना नेतालाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको खुलेको छ।
मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एकलाई राष्ट्रपतिमा अगाडि सार्न प्रस्ताव गरेका हुन्। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहँदा प्रचण्डको यो प्रस्ताव आएको हो।
देउवाको सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो। सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए।
पौडेलसँगै कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मार्फत देउवा वा सिटौला उम्मेदवार बन्नुपर्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए। कांग्रेस स्रोतका अनुसार मंगलबार साँझ खड्का प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।
उता लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा)का नेताले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै देउवा निवास पुगेका थिए।देउवा वा सिटौला कसलाई अगाडि सार्नुहुन्छ उहाँहरूको कुरा हो ।’ देउवा र सिटौलामध्ये एक जना हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको स्पष्ट लाइन रहेको माओवादिका एक नेताले बताए।