सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती उस्तै, बिचौलिया हावी 

२०८३ कार्तिक २०, ११:०७ अनुभव भट्ट

धनगढीः यातायात व्यवस्था कार्यालय कैलालीमा सेवाग्राहीले भोग्दै आएको सास्ती उस्तै देखिएको छ। सामान्य कामका लागि समेत घण्टौँ लाइनमा बस्नुपर्ने, दिनभर कार्यालयमै बिताउनुपर्ने र बिचौलियाले लाइन मिचेर काम गराउने गर्दा कार्यालयको सेवा प्रवाहमाथि प्रश्न उठाइएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने दाबी गरिरहे पनि कैलालीस्थित यातायात कार्यालयमा भने सर्वसाधारणले सास्ती भोग्नुपरेको गुनासो गरेका हुन्। कर्मचारीको ढिलासुस्ती, कमजोर व्यवस्थापन र बिचौलियाको प्रभावका कारण सेवाग्राहीले अनावश्यक दुःख पाउनुपरेको उनीहरूको भनाइ छ। बिहीबार अछामका लक्ष्मण महता मोटरसाइकल नामसारीका लागि बिहान ९ बजे नै कार्यालय पुगेका थिए। तर, दिउँसो २ बजेसम्म पनि उनको काम हुन सकेन। सामान्य कामका लागि पाँच घण्टासम्म लाइनमा बस्नुपरेपछि उनले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘बिहान ९ बजे नै नामसारीका लागि कार्यालय आएको हुँ। सामान्य कामका लागि पनि यति धेरै समय खर्चिनुपर्ने अवस्था कर्मचारीको ढिलासुस्तीका कारण हो,’ उनले भने। त्यस्तै, अत्तरियाकी आरजू सवारी नवीकरणका लागि बिहान ८ बजेदेखि नै कार्यालयमा कुर्न बाध्य भइन्। सरकार परिवर्तन भए पनि सरकारी कार्यालयबाट नागरिकले पाउने सेवामा कुनै सुधार नआएको उनको गुनासो छ। ‘नयाँ सरकार आए पनि जनताले पाउने दुःखमा कुनै परिवर्तन आएको छैन,’ उनले भनिन्।

सेवाग्राहीको अर्को गुनासो बिचौलियाको प्रभाव र लाइन व्यवस्थापनमा देखिएको छ। स्कुटरको कर तिर्न बिहान ९ बजे कार्यालय पुगेका बेशराज न्यौपानेले बिचौलिया र कर्मचारीबीचको मिलेमतोमा लाइन मिचेर काम भइरहेको आरोप लगाए। ‘हामी बिहानैदेखि लाइनमा बसेका हुन्छौँ, तर बिचौलिया र कर्मचारीको सेटिङमा लाइन मिचेर १०–१५ जनाको काम बीचैबाट गराइएको छ,’ उनले भने।

सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने तर पहुँच र बिचौलियामार्फत आउनेले सहजै काम गराउने अवस्था रहेको आरोपले कार्यालयको पारदर्शिता र जवाफदेहितामाथि समेत प्रश्न उठाएको छ। यता, यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख भुवन जोशीले भने सेवा प्रवाहलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार सवारी चालक अनुमतिपत्रतर्फ नयाँ प्रणाली लागू भइसकेको छ। त्यसले भीड व्यवस्थापनमा केही सुधार ल्याएको छ भने सवारी दर्ता तथा नवीकरणतर्फ पनि चालु आर्थिक वर्षभित्र डिजिटल प्रणाली लागू गर्ने लक्ष्य छ।

‘लाइसेन्सतर्फ नयाँ प्रणाली लागू भइसकेको छ। त्यसले भीड व्यवस्थापनमा सुधार आएको छ। अब दोस्रो चरणमा सवारीतर्फ पनि यही आर्थिक वर्षभित्र डिजिटल प्रणाली लागू गर्ने लक्ष्य छ। त्यसपछि अहिले देखिएका समस्या समाधान हुने अपेक्षा गरेका छौँ,’ उनले भने। दसैँ–तिहारको लामो बिदापछि सेवाग्राहीको चाप एकैपटक बढ्दा पनि कार्यालयमा भीड भएको उनको भनाइ छ। बिदाका कारण रोकिएका काम एकैपटक थुप्रिएकाले सेवा प्रवाहमा चाप परेको उनले बताए। सेवाग्राहीको सुविधाका लागि बेन्च र टोकन प्रणालीको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

कार्यालय प्रमुख जोशीले राजस्व संकलन गर्ने बैंकका दुईवटा मात्रै काउन्टर सञ्चालनमा रहेकाले पनि सेवामा ढिलाइ भएको स्वीकार गरे। काउन्टर थप्न पटक–पटक पत्राचार गर्दा पनि बैंकले थप व्यवस्था नगरेको उनको भनाइ छ। ‘राजस्व संकलन गर्ने बैंकका दुईवटा मात्रै काउन्टर खुला छन्। काउन्टर थप्न पटक–पटक पत्राचार गर्दा पनि बैंकले संख्या बढाएको छैन। यसले पनि सेवाग्राहीलाई समस्या भएको छ। यस विषयमा थप समन्वय आवश्यक छ,’ उनले भने।

कार्यालय प्रमुखले डिजिटल प्रणाली, टोकन र व्यवस्थापकीय सुधारलाई समस्या समाधानको उपायका रूपमा प्रस्तुत गरिरहँदा सेवाग्राही भने तत्काल सुधारको अपेक्षामा छन्। 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस