राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाता
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो। कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
अन्तिम नामावली फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको उनले बताए। फागुन ११ गते आज १२ बजेपछि उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकृत पौडेलले बताए। आज बिहीबार १२ बजेपछि जाँचबुझको प्रक्रिया सुरु हुने उनले बताए।
अन्तिम मतदाता नामावली शुक्रबार १२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक हुने उनले बताए। राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ। सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुनेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते तोकिएको छ।