पुरानो पाँच दलीय गठबन्धन ब्युँतनेः जसपाका प्रचार विभाग प्रमुख बस्नेत
काठमाडौँः जनता समाजवादी पार्टीका नेताहरुले उपराष्ट्रपति जसपाले पाउने देखिएको बताएका छन्।
आज बिहान बालुवाटारमा बसेको चार दलीय (काँग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बैठकमा पुरानो गठबन्धन (पाँच दलीय) ब्युँताउने सहमति भएसँगै राष्ट्रपति काँग्रेस, चार वर्ष प्रधानमन्त्री माओवादी, एक वर्ष प्रधानमन्त्री नेकपा एकीकृत समाजवादी पार्टी र उपराष्ट्रपति जसपाले पाउने सहमतिको खाका तयार भएको छ।
आजै पाँच बजे बस्ने चार दलको बैठकले यसलाई मूर्त रूप दिने सहमति भएको छ। यद्यपि राष्ट्रपतिमा काँग्रेस र एकीकृत समाजवादी पार्टी कुरा टुङ्ग्याउन अझै बाँकी छ। शक्ति बाँडफाँटमा काँग्रेसले राष्ट्रपतिमा मात्र चित्त नबुझाउने नेताहरूले तर्क गरिरहेका छन् भने एकीकृत समाजवादी पार्टीले एक वर्ष प्रधानमन्त्रीमा विश्वस्त हुन सकेको छैन।
जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले उपराष्ट्रपति पाउने निश्चित भएको तर लिखित सहमति नभएसम्म यसै भन्न नसकिने बताए। जसपाले उपराष्ट्रपति पाउने भएपछि सो पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि संसद्मा आउने बाटो खुला भएको छ।
पार्टीका एक कार्यकारिणी सदस्यका अनुसार उपराष्ट्रपति पाउने निश्चित भएपछि सप्तरी–१ बाट प्रतिनिधि सभामा चुनाव जितेका नवलकिशोर साह र बारा–२ बाट प्रतिनिधि सभामा चुनाव जितेका रामसहाय यादवमध्ये एकजनालाई राजीनामा दिन लगाएर उपराष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको आन्तरिक तयारी भएको बस्नेतले बताए।
उनले भने, ‘जसपाले उपराष्ट्रपति पाउनेमा सबै दल सहमत भएका छन् तर लिखित सम्झौता हुन बाँकी छ। हेरौँ आज साँझको बैठकले के हुन्छ।’