सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४औं महाधिवेशनमा पौडेलसँगको सम्झौतामा पिल्सिए देउवा, को बन्ला नयाँ राष्ट्रपति?

२०७९ फाल्गुन १२, ०८:४८ खबर संवाददाता

काठमाडौंः संसदको सबभन्दा ठूलो दल प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मारेको छ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन्। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए।

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी नै थियो। राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन्। राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ।कपितयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुचि देखाएका छैनन्। एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने संकेसम्म गर्नु भएको छैन।’

त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ। कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो। संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबावमा छन्। १४औं महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए।

देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थक बसेको नेताहरु बताउँछन् ।

कमेन्ट लोड गर्नुस