एमाले सरकारबाट बाहिरिने शनिबारको बैठकले निर्णय गर्नेः ज्ञवाली
काठमाडौँः राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका हुन्। शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए। ‘सम्भवतः भोलि नै एमाले सरकारबाट बाहिरिन्छ होला,’ लोसपाका नेता राजेन्द्र महतोले भने।
यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने बताए।
‘अव कसरी अघि बढ्ने के गर्ने सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा शनिबारको बैठकले निर्णय गर्छ’ज्ञवाली भने।