अबको राष्ट्रपति रामचन्द्र कि सुभासचन्द्र? कोसँग कति मतभार?
काठमाडौंः यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। राष्ट्रपति पदका लागि नयाँ आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुभासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ।
यी दुई उम्मेदवारहरूमध्ये कसले बाजी मार्ला? यसको जवाफका लागि पहिले निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाको चर्चा गरौं। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनी व्यवस्था अनुसार राष्ट्रपतिको उम्मेदवारले कुल मतको बहुमत प्राप्त गर्नुपर्छ। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) ३३३ सदस्य र प्रदेश सभाका ५५० सदस्यले मतदान गर्नेछन्। कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको १ मत बराबर ७९ मतभार हुनेछ। यस आधारमा संघीय संसदका ३३२ सांसद (एक सांसदको पद खारेज भएको)को कूल मतभार २६ हजार २२८ हुनेछ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वाेच्चले खारेज गरेको थियो। यस्तै, प्रदेश सभा सदस्यको मतभार भने ४८ छ। यस आधारमा प्रदेश सभाका सदस्यको कुल मतभार २६ हजार ४०० हुन्छ। अर्थात् राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६२८ हुन्छ। यस आधारमा राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३१४ भन्दा बढी मतभार ल्याउनुपर्ने हुन्छ।
यसमा कुन उम्मेदवारले बाजी मार्ला त? यसबारे चर्चा गरौं। यसका लागि सबैभन्दा पहिले कुन दलसँग कति मतभार छ भन्ने हिसाब गर्नुपर्ने हुन्छ। राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबैभन्दा धेरै १६ हजार २२१ मतभार छ। एमालेसँग १५ हजार २३३ र माओवादी केन्द्रसँग ७ हजार ६४९ मतभार छ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५७४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग २ हजार ४५० र जनता समाजवादी पार्टी (जसपा)सँग २ हजार १४५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १ हजार ५०१ र जनमत पार्टीसँग १ हजार २४२ मतभार छ। स्वतन्त्र सांसदहरूको भने १०५० मतभार छ।
अन्य दलहरूको मतभार हजारभन्दा कम छ। राष्ट्रपति निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेपाल मजदुर किसान पार्टीसँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, हाम्रो नेपाली पार्टीसँग ९६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र नेपाल समाजवादी पार्टीसँग ४८ मतभार छ।
अब कुन उम्मेदवारको पक्षमा कति मत खस्ला भन्ने चर्चा गरौं। यसमा सबैभन्दा पहिले रामचन्द्र पौडेलको कुरा गरौं। पौडेल हालै बनेको नयाँ आठ दलीय गठबन्धन (कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा)का उम्मेदवार हुन्। यी दलहरूको मतभार ३१ हजार ८२१ मतभार छ।
यी सबै दलका सांसदहरूले पौडेललाई मत दिए अबको राष्ट्रपतिमा उनी नै निर्वाचित हुनेछन्। राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक हेर्दा नयाँ गठबन्धनमा आवद्ध दलका सांसद छन्। यो अवस्थामा बाँकी सबै दल र स्वतन्त्र सांसदहरूको मत पाए पनि एमाले उम्मेदवार नेम्वाङ चुनाव जित्न सक्ने छैनन्।
अर्थात् यी सबैको मतभार २० हजार ८०७ मात्रै छ। तर, नयाँ आठ दलीय गठबन्धनमा केही गरी फाटो आए नेम्वाङ राष्ट्रपतिमा निर्वाचित नहोलान् भन्न सकिन्न। राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय तोकिएको थियो। –अभियान दैनिकबाट