सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको पालना गर्नु मेरो प्रमुख कर्तव्य होः पौडेल

२०७९ फाल्गुन १३, ०४:०१ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।

शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका हुन्। गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसनिम्ति आफ्नो भूमिका हुने बताए।

उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने धारणा राखे। त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ।‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरसः पालना गर्ने मेरो कर्तव्य हो। देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौति छ।

गणतन्त्र संस्थागत गर्नुपरेको छ। नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ ।,’पौडेलले भने ‘नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडि बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने।

राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ। मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन्। सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ की। त्यसमा म कोशिस गर्दैछु। एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उनले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाईे योगदान गर्लान भन्ने मैले विश्वास गरेको छु।’

उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस