बारामा उपनिर्वाचन लड्ने मनसायमा उपेन्द्र यादव
धनगढी : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय देखाएका छन्।
धनगढीमा आइतवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका हुन्। तर त्यसबारे आफूले निर्णय नगरेको उनको दाबी छ।
यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको यादवले बताए। ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन। मैले पनि माइन्ड मेकअप गरिसकेको छैन।’
गत मंसिर ४ गतेको चुनावमा पराजय व्यहोरेका यादवले खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्को छोड्न हुँदैन भने। उनले भने, ‘खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ।’