राष्ट्रपति पौडेललाई आज भारत लगिँदै
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत लगिँदै छ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले बताए। उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ।
उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताए। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।