सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीको पाचौँ मुख्यमन्त्रीका रुपमा चौधरी नियुक्त

२०८० वैशाख १४, ०७:४० खबर संवाददाता

धनगढीः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्।

चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहिबार) नियुक्त गरेका हुन्। एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकारका लागि आह्वान गरेका थिए।

सोही आह्वानबमोजिम चौधरी लुम्बिनीका पाँचौँ मुख्यमन्त्रीका रूपमा आज नियुक्त भएका हुन्। चौधरीलाई कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए।

यसअघि एमाले नेता शंकर पोखरेल दुईपटक मुख्यमन्त्री नियुक्त भएका थिए। त्यस्तै, माओवादी केन्द्रका कुलप्रसाद केसी, एमालेका लीला गिरी मुख्यमन्त्री भएका थिए। पार्टीहरूको विभाजन तथा दलहरूको समीकरण फेरबदलको परिणाम निम्तिएको अस्थिरताले लुम्बिनीमा अघिल्लो पाँचवर्षे कार्यकालमा तीनजना मुख्यमन्त्री भए।

माओवादी केन्द्र र काँगे्रसले आलोपालो सरकारको नेतृत्व गर्ने सवालमा कांग्रेससँग सहमति भएको बताएको छ। 

कमेन्ट लोड गर्नुस