सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको औषधी खरिद प्रक्रिया विरुद्ध अख्तियारमा उजुरी
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले औषधी र उपकरण खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मन्त्रालयले आह्वान गरेको टेण्डरमा अनावश्यक कागजपत्रहरु माग गरेर मिलोमतोमा टेण्डर गरेको भन्दै रद्द गर्न माग सहित अख्तियारमा उजुरी परेको हो। औषधी तथा उपकरण खरिदको जिम्मा चाहेको आपुर्तिकर्तालाई दिनका लागि वस्तु अनुसार नदिएर प्याकेजमा दिएपछि मिलोमतोको भएकाले टेण्डर प्रक्रिया रद्ध हुनुपर्ने माग सहित उजुरी परेको हो। औषधी र उपकरणहरुका विभिन्न टेण्डरहरुमा फरक फरक प्रावधान राखेर अनिमितता गर्न खोजेको आरोप लाग्दै आएको थियो।
मन्त्रालयले आव्हान गरेको २ करोड ४० लाखको औषधीको टेण्डरमा विट गर्ने फर्मले कुनै एक निकायमा १ करोड ७४ लाखको मुल्य आपुर्ति गरेको हुनुपर्ने भनिएको छ। मन्त्रालयले नै २ करोड ८८ लाखमा आव्हान गरेको उपकरणमा कम्तिमा एक करोड ५० लाख मुल्य बराबरको कारोवार भएको हुनुपर्ने बुँदा समावेश गरिएको छ। त्यसैगरी एक करोड ६८ लाखको औषधी, एक करोड ८६ लाखको अक्सिजन प्लान्ट र साढे ७ करोडको एम्बुलेन्स खरिदको टेण्डरमा पनि विभिन्न बुँदाहरु राखेर ईच्छाएको फर्म र व्यक्तीलाई दिने गरी व्यवस्था मिलाईएको आपुर्तिकर्ताहरुको आरोप छ। कतिपय आपुर्तिकर्ताले प्याकेजमा महँगो पर्ने र वस्तु अनुसार गरेमा सरकारी रकम बचत हुने भन्दै वस्तु अनुसार गर्नका लागि लिखित रुपमा समेत मन्त्रालयलाई अनुरोध गरेका थिए। तर मन्त्रालयले निवेदनलाई वेवास्ता गरिदिएको थियो।
सामाजिक विकास मन्त्रालयले आह्वान गरेका टेण्डरहरुको प्रावधान बनाउने काम गरेको परामर्शदाता कम्पनीले यसअघि महाकाली अञ्चल अस्पतालको पनि टेण्डरको प्रावधान बनाएका थियो। तर त्यो सिमित र चाहेकोलाई दिने गरी बनाईएको भन्दै खोलिएका टेण्डर पनि रद्द गरिएको थियो। सेती अञ्चल अस्पतालमा पनि प्याकेजमा टेण्डर गर्दै अनिमितता हुने गरेकोमा हाल आएर त्यहाँ पनि वस्तु अनुसार टेण्डर हुन थालेपछि केही अनियमिततामा कमि आएको छ। तर समग्र प्रदेशकै नेतृत्व गर्ने र सुधार गर्ने जिम्मा लिनुपर्ने सामाजिक विकास मन्त्रालय भने आर्थिक चलखेलको लोभमा आफै गलत बाटोमा हिडिरहेको आपुर्तिकर्ताहरुले आरोप लगाउँदै आएका छन्।
यो पनि पढ्नुहोस
सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा मिलोमतोमा टेण्डर, करोड बढि कुम्ल्याउने प्रयास