पार्टीको आचरणविपरीत अभिव्यक्ति दिनेलाई नेकपा एसले दियो कारबाहीको चेतावनी
धनगढीः नेकपा एकीकृत समाजवादीको केन्द्रीय अनुशासन आयोगले पार्टीको सिद्धान्त, आचरण र पार्टीको विधानविपरीत अभिव्यक्ति दिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका एकाध कमरेडहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुने गरी सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा समेत गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्तिहरू दिएको र तिनै कुराहरूलाई प्रतिगामी तत्वहरूले उछालिरहेको अवस्थामा पार्टीलाई अनुशासित, मर्यादित, र विधि—पद्धतिअनुरुप सञ्चालन गर्ने गराउने आधिकारकि निकायको रूपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेकपा एसको अनुशासन आयोगले जीवन्त पार्टीमा फरक मतहरू हुन सक्ने भए पनि त्यसलाई पार्टीकै कमिटीमा राख्न सकिने जनाएको छ। साथै, उसले कारबाहीको चेतावनी दिँदै आचरणमा सुधार ल्याउन पनि भनेको छ।
‘आगामी दिनहरूमा आ–आफ्ना कमी कमजोरीहरूलाई सुधार्नका लागि सचेत गराइन्छ। अन्यथा पार्टी विधानअनुरुप आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने कुरासमेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।