एमालेभित्र उठ्यो संघीयताको विपक्षमा पार्टी उभिनुपर्ने माग
काठमाडौंः देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन्। समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए। उनीहरु दुवै बागमती समूहमा थिए। समूहका सदस्यहरुले राखेको मतलाई समूह नेताले केन्द्रीय समिति वैठकमा पेश गर्ने प्रावधान छ।
यसअघि सामाजिक सञ्जालमा पनि बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उठाएका हुन्। जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनले तर्क गरे। अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए। संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो।
एमालेमा पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको छ। अनौपचारिक कुराकानीमा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्ने गरेका छन्। तर, पार्टीका वैठक वा सार्वजनकिरुपमा भने कमै नेताहरुले मात्रै संघीयताको विरोध गरेका छन्। पार्टी नेतृत्वले भने अहिलेसम्म आफूलाई संघीयताको पक्षमा नै प्रस्तुत गरिरहेको छ।
आज केन्द्रीय समिति वैठकमा संघीयता विरोधमा आवाज उठाउनै दुवै केन्द्रीय सदस्यहरु अध्यक्ष केपी ओली निटकका हुन्।
–साभारः नेपाल प्रेस