सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाउपाले तीन दिन राँके जुलुशसहित देशभर प्रदर्शन गर्ने

५ दिन नेपाल बन्द गर्ने 

२०८० जेठ ३, ०५:०५ खबर संवाददाता

धनगढीः  सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारविरुद्ध पाँच दिने नेपालबन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए। आन्दोलनको कार्यक्रम अन्तर्गत आजैबाट तीन दिन देश व्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गरिने उनले बताए। राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको विरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने पनि वरिष्ठ उपाध्यक्ष पण्डितले बताए।

‘टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौं। अव सरकारसँग हाम्रो माग मात्र दुई वटा छ। एक सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नु पर्छ। र, सो आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्दछ। दोस्रो, यदि रेशमलाल चौंधरीलगायतका राजबन्दी हत्यारा हुन भने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फासी दिए हुन्छ’, उनले भने, ‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन।

हामी आन्दोलन गर्न विवश हुनेछौं। जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुश प्रर्दशनी, कोणसभा र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गर्ने जारी विज्ञप्तिमा भनिएको छ।’

कमेन्ट लोड गर्नुस